सार्वजनिक यातायातमा आरक्षण सिट र छुट नपाएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो

धुर्ब ओझा/अत्तरिया : अपाङ्गता भएका व्यक्तिहरूले सार्वजनिक यातायातमा दिइने छुट आफूहरूले नपाएको गुनासो गरेका छन् । कैलालीका ह्विल चियर संघका अध्यक्ष लक्ष्मण बिकले राज्यले बनाएका सडक, सरकारी तथा गैरसरकारी कार्यालय तथा बैङ्क हुने खानेका लागि मात्र भए, ह्विलचियर गुडाउन मिल्ने छैनन्, स्थानिय तहहरुमा अपाङ्गमैत्री संरचना नहुँदा सेवा लिन समेत सास्ती खेप्नु परेको उनले गुनासो गरे ।

त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिमका सदस्य नरेन्द्र प्रसाद जैशीले सार्वजनिक यातायातमा छुट माग्दा उल्टै दुव्र्यवहार भोग्नु परेको दुःखेसो पोखे । आरक्षणको लागि दिइएको सुविधा व्यवहारमा लागू नभएको बताउँदै उनले आगामी दिनमा यातायात व्यवसायीलाई सरकारले दिने सुविधाका आधारमा छुटको व्यवस्था गर्न माग गरिएको बताए । त्यसका लागि प्रहरी प्रशासन र स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने उनले बताए ।

अपाङ्ग सेवा समिती डडेल्धुराका अध्यक्ष लाल बहादुर खत्रीले अपाङ्गता भएका व्यक्तिलाई दिनुपर्ने छुट नदिएको गुनासो गरेका छन् । उनले यातायातका साधनमा आरक्षण कोटा समेत हुन्छ तर आरक्षण कोटामा अपाङ्गता भएका व्यक्तिहरू बस्न समेत नपाउने गरेको बताए । राज्यले अपाङ्गता भएका व्यक्तिलाई दिने भनिएको सेवा र सहुलियत कुनै पक्षबाट पनि कार्यान्वयन नभएको अपाङ्ग एकता समाज कैलालीका अध्यक्ष अनिल मल्लले गुनासो गरे । स्थानीय तह कार्यान्वयनपछि सबैभन्दा बढी अन्याय र विभेद गरिएको उनको गुनासो छ । स्थानिय तहहरुमा अपाङ्गमैत्री कुनैपनि संरचना निर्माण नगरिएको उनले बताए ।

सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत भाडा छुट हुने व्यवस्था भएपनि कार्यान्वयन नभएको राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउँदले बताए । उनले दश सिट क्षमताको सार्वजनिक सवारीमा १ सिटको आरक्षण, ११ देखी १५ सिट क्षमतामा २, १६ देखी ३० मा ३ र ३० भन्दा माथि ४ सिटको आरक्षण क्षमता भएको बताए । तर उक्त नियम अहिले सम्म लागु नभएको उनको गुनासो छ ।

शनिबार ७४औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेशले कैलालीको अत्तरिया र धनगढी बसपार्कमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धीका स्टिकर सार्वजनिक यातायातमा टाँस गरेको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी, ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया र क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको सहयोगमा सिट आरक्षण, भाडा दरमा ५० प्रतिशत छुट र सम्मानजनक भाषाको प्रयोग सम्वन्धी लेखिएका करिब ३ सय स्टिकर सार्वजनिक यातायातमा टाँस गरिएको प्रदेशअध्यक्ष साउँदले बताए ।

सार्वजनिक सडक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ । राज्यले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को उपदफा २ मा सवारी साधन धनी वा चालकले तोकिए बामेजिमका अपाङ्गता भएका व्यक्तिहरुलाई रेल, बस, हवाईजहाज जस्ता सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्दा यात्रु भाडामा परिचयपत्रका आधारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । आरक्षणको लागि दिइएको सुविधा सिटको व्यवस्था भएपनि व्यवहारमा लागू नभएको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो रहेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.