अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-८ जोनापुरमा सिता देवी चौधरी भलमन्सामा निर्वाचित भएकी छन् । बिहीबार भएको गाउँको भलमन्सा निर्वाचनबाट उनी जोनापुरको भलमन्सामा निर्वाचित भएकी हुन् । उनी आफ्ना प्रतिद्धन्दी भागिराम चौधरीसंग १ मतले बिजयी भएकी छन् । करिब ३ सय घरधुरी रहेको जोनापुरमा एक सय ३३ मत खसेकोमा सिता देवीले ६५ मत प्राप्त गरेकी थिईन भने उनका प्रतिद्धन्दी भागिरामले ६४ मत प्राप्त गरेका थिए ।
भलमन्सा छनौटमा सहमति जुटाउन नसकिएपछि निर्वाचन भएको बताईएको छ । सधै सहमतीका आधारमा भलमन्सा छनौट गदै आएका जोनापुर गाउमा यसपाली भने प्रतिस्पधाका आधारमा भलमन्सा छनौट भएको छ । महिला नेतृ सितादेवी अब एक वर्षसम्म करिब ३ सय घरधुरी रहेको जोनापुर गाउँको नेतृत्व गर्नेछिन् । उनले चौथो पटक गाउँको नेतृत्वको जिम्मेवारी पाएकी हुन् ।
सिताले २०७३ साल देखी २०७५ साल सम्म निरन्तर गाउँको नेतृत्व गरिन भने २०७४ सालमा भएको स्थानिय चुनावमा कांग्रेसबाट उम्मेदवार बनेर वडा सदस्य पनि निर्वाचित भएकी थिईन् । गोदावरी ८ को वडा सदस्यमा निर्वाचित भएकी सितादेवी जनप्रतिनिधीको कार्यकाल सकिएपछि पुनः अहिले गाउँको नेतृत्व गर्न स्थानिय थारु समुदायले भलमन्सामा विजयी गराएका छन् । गाउको अघोरिया पदमा बासुदेव चौधरी सर्वसम्मत चयन भएका छन् । उनी पाँचौ पटक अघोरिया पदमा चयन भएका हुन् ।
भलमन्साको पदावधि एक वर्षको हुन्छ । राम्रो काम गर्नेले भने पटकपटक गाउँको नेतृत्व गर्न पाउँछन् । थारू समुदायमा माघी पर्वलाई नयाँ आर्थिक वर्षका रुपमा लिइन्छ । यसै अवसरमा परिवारभित्र जिम्मेवारी हेरफेर तथा गाउँको अगुवा चयन गर्ने चलन छ । सोहीअनुसार गाउँमा भलमन्सा (बडघर) चुन्न थालिएको हो । भलमन्सा (बडघर) प्रथा थारू समुदायमा सदियौँदेखि प्रचलनमा छ । थारू समुदायमा हरेक माघमा समुदायका व्यक्तिहरूले भलमन्सा चयन गर्छन् । समुदायमा हुने झैझगडा, वादविवाद, न्यायनिसाफ लगायतका काम भलमन्साबाटै हुने गर्छ ।
बडघरको सुरुआत कसरी भयो भन्नेबारेमा ऐतिहासिक तथ्य नभए पनि कविला युगदेखि यो प्रणाली अस्तित्वमा रहेको अनुमान गरिएको छ । परापूर्वकालमा हुनेखाने परिवारलाई बडघर भन्ने गरिएको थारू अगुवाको भनाइ छ । भलमन्सा (बडघर) ले गाउँघरमा हुने विकास निर्माणका काममा सहजीकरण गर्छन् । ससाना झैझगडा तथा वादविवाद मिलाउने जिम्मेवारी पनि उनीहरुकै हो ।
गाउँको मुख्य व्यक्तिका रुपमा भलमन्साका अतिरिक्त गुरुबा, चिराकी, चौकीदार, अघरियाजस्ता पदमा पनि विभिन्न व्यक्तिलाई छनोट गर्ने गरिन्छ । यस्तो परम्पराले गाउँमा एकता र सामूहिकताको विकास हुन्छ । साथै गाउँमा अनुशासन कायम गर्नमा टेवा पुग्ने थारू बुद्धिजीवी बताउछन् ।
भलमन्सा बडघर, गुरुवा, चिराकी, अघरिया जस्ता प्रथा सदीयौंदेखि एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको उनीहरुको भनाई छ। तर, कतिपय बस्तीमा भने यो प्रथाको पुस्तान्तरण गर्न केही समस्या हुने गरेको छ । यो प्रथा समाज र गाउँप्रति उत्तरदायी हुँदाहुँदै पनि यसलाई जीवन्त राख्न युवापुस्ता मौन देखिँदा पुस्तान्तरण गर्न समस्या हुन सक्ने थारू अगुवाहरुको भनाइ छ ।