मेडिकल कलेज सञ्चालनका विषयमा सरकारले सुदूरपश्चिमलाई धोका दियो !

धुर्ब ओझा/अत्तरिया : सुदूरपश्चिम प्रदेशमा २०५६ सालमा मेडिकल कलेज सञ्चालन गर्ने पहल सुरु भएको थियो । सुदुरपश्चिमबासीका करिब २५ बर्ष पहिले देखिका सपना अझै पुर्ण हुन सकेका छैनन् । सुदुरपश्चिममा मेडिकल कलेज बन्छ भनेर हर्षित भएका सुदुरपश्चिमबासीहरु अझसम्म निरासमै छन् । स्वास्थ्य क्षेत्रबाट पिछडिएको सुदुरपश्चिमवासीको पिडा अहिलेपनि जस्ताको त्यस्तै छ ।

कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ गेटामा २०६६ सालमै गेटा मेडिकल कलेज निर्माण गर्ने घोषणा गरिएको भएपनि आर्थिक वर्ष २०७३/०७४ बाट मात्रै यसको भौतिक संरचना निर्माणको काम थालिएको थियो । संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्राबास लगायत संरचना निर्माणको काम सकिएको छ । झण्डै ५ अर्ब ४५ करोडको लागतमा ४२ ओटा भवनहरु निर्माण गरी सम्पन्न भएका छन् ।

देशभरीमा २५ भन्दा बढी मेडिकल कलेज तथा प्रतिष्ठान बनिसक्दा सुदुरपश्चिममा एउटा मेडिकल कलेज पनि सञ्चालन हुन सकेको छैन् । सुदुपश्चिमबाट राज्यको उच्च तहमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, उद्योग मन्त्री गरी पटक पटक मन्त्री पाएको ठाउ हो सुदुरपश्चिम । तर सुदुरपश्चिमका नागरिक स्वास्थ्य क्षेत्रमा जहिले पनि पछाडी रहे । आफ्नै क्षेत्रमा मेडिकल विश्वबिद्यालय बनेर आफ्नो उपचारका लागि पर्खिरहेका बिरामी नागरिकको समस्या सरकारले बुझेन् ।

गेटा मेडिकल कलेजलाइ बिभिन्न पार्टीका नेताहरुले राजनितीक रुपमा पनि लैजान खोजे । आआफ्नो पार्टीको सरकारले यो गर्छ त्यो गर्छ भन्दै भाषण गर्दै हिने । कलेजका खालि भवनमा २०७९ मंसिर ४ गतेको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचन कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय समेत राखियो । चुनावका बेला नेताहरुले गेटा मेडिकल कलेजलाई अगाढी बढाउने भन्दै बिशेष एजेण्डाका रुपमा समेत राखेका थिए । तर यहाँका जनताले मेडिकल कलेज बन्नेभएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने भयो भनेर देखेका सपना पनि सपनामै रहे ।

गत जेठ ११ गते देखि स्थानिय युवाहरुको समुहले गेटा मेडिकल कलेज सञ्चालानार्थ संघर्ष समिति निर्माणगरी यथाशिघ्र गेटा मेडिकल कलेज संचालनको लागि दबाव दिदै आएको थियो । दबाब दिदैं आएको संघर्ष समितिले गेटामा तत्काल अस्पताल संचालन गरी मेडिकल विश्वविद्यालय मोडालिटीमा संचालन गरिनुपर्ने दवाव दिर्दै बिभिन्न दबाव मुलक कार्यक्रम गर्दै आएको थियो । संघर्ष समिती र स्थानीय युवाहरुको समुहले गेटा मेडिकल कलेजलाई यथासक्य सञ्चालनमा ल्याईनुपर्ने भन्दै अत्तरियामा हस्ताक्षर अभियान पनि सञ्चालन गरिएको थियो । उक्त अभियान मार्फत करिब १५ हजार हस्ताक्षर संकलन गरी मेडिकल कलेज यथासिघ्र संचालनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई बुझाइएको थियो ।

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा छिटो अगाडी बढाई सञ्चालनमा ल्याईनुपर्ने भन्दै आन्दोलन समेत चर्किएको थियो । सोही विषयको समर्थन गर्दै र गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडी बढाउनुपर्ने लगायतका मागहरु राख्दै डाक्टर गोबिन्द केसी अनसन बसेका थिए । सरकारसँगको सहमतिपछि केसीले अनशन तोडेका थिए । त्यसअघि धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले पनि उक्त मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा अगाडी बढाईने बताएका थिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै गेटा मेडिकल कलेज सेती तथा महाकाली अस्पताल सहकार्यमा सम्बन्धित विश्वविद्यालय अन्तरगत संचालन गर्ने व्यवस्था मिलाइने बताएका थिए ।

२०७९ माघ २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको मन्त्रीरिषदको बैठकले गेटा मेडिकल कलेजलाई दशरथचन्द राष्ट्रिय स्वास्थ्य बिज्ञान विश्वबिद्यालय भनेर अगाढी बढाउने निर्णय गर्यो । यहाँका जनताले खुसीयालीमा बजारका चोक चोकमा मैन बत्ती जलाए, संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फुलमाला सहित धन्यवाद ज्ञापन समेत गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कलेजको मोडालिटीका बारेमा समेत सुदूरपश्चिम क्षेत्रका बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्व सांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।

त्यसपछि फागुन १ गते आफ्नो कार्यकालको पहिलो भ्रमणका क्रममा सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रचण्डले कैलालीको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजको अनुगमन समेत गरे । र केहिदिन अगाढी राष्ट्रपतिले पनि निति तथा कार्यक्रममा गेटामा दशरथचन्द राष्ट्रिय स्वास्थ्य बिज्ञान विश्वबिद्यालयलाई अगाढी बढाउने भनेर समाबेश गरे । तर यहि जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने बताए । यसअघि सरकारले सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा सञ्चालन गर्ने भनिएको कैलालीको गेटा मेडिकल कलेजलाई सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने भएको छ ।

सरकारले गेटा मेडिकल कलेज सञ्चालनको प्रारुप टुंग्याएपनि स्थानियहरुले भने उक्त निर्णयको विरोध गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा अहिले व्यापक विरोध भईरहेको छ । सामाजिक सञ्जालमा बोल्दै गेटा मेडिकल कलेज सञ्चालानार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले सुदुरपश्चिमका जनातामाथि गरेको ठुलो अन्तरघात भएको बताए । उनले यो अन्तरघातलाई त्यतिकै सहेर बस्न नहुने बताए । गेटामा ६६ बिघा जमिनमा बनेको मेडिकल सञ्चालन नहुदा आज सुदुरपश्चिमका सयौ बिरामीहरु उपचारका लागि भारतका बिभिन्न अस्पतालमा जानुपर्ने बाध्यता रहेको बताए । उनले सुदुरपश्चिम प्रदेशबाट चुनाव जितेर गएका संघिय सांसदको पनि कमजोरी रहेको बताए । उनले कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव जितेर गएका सांसद वीर बहादुर बलाएरलाइ चुनावको बेलाको ठुलो मुद्धा रहेको मेडिकल कलेज आज चुनाव जितेको ६ महिना हुदापनि कता हुनुहुन्छ, भनेर प्रश्न गरेका छन् ।

त्यस्तै सामाजिक सञ्जालमा लेख्दै गेटा मेडिकल कलेज सञ्चालानार्थ संघर्ष समितिका उपसंयोजक आनन्द भट्टले सरकारले मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर सुदूरपश्चिमेलीलाई धोका दिएको बताए । उनले संघर्ष समितिलाई विश्वविद्यालय बनाउने आश्वासन दिएर अन्तमा प्रतिष्ठान बनाउने विषय स्वीकार्र्य नहुने बताए ।

सामाजिक सञ्जालमा लेख्दै स्थानिय युवा दुर्गा कुमार पोखरेलले गेटा मेडिकल बिश्वबिद्यालय सम्बन्धमा चाहे बिश्वबिद्यालय बनोस,चाहे मेडिकल कलेज बनोस तर तत्काल कार्यान्वयन हुनु दबाब दिनु आवश्यक रहेको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन– ‘अब मिटिङ्ग बसेर मात्रै हुन्न,अब सडक देखि सदन सम्म तताउन आबस्यक छ,यस क्षेत्र का निर्बाचित, मनोनित सबै जनप्रतिनिधीको पहिलो माग सहितको एउटै स्वर हुनु आबश्यक छ । दौड धुप गर्दा गर्दै आर्थिक ब्यय पनि धेरै भैसक्यो । अब एकताबद्ध भएर सञ्चालन नहुदा सम्म आन्दोलन मा जाने भए मात्र अगाडि बढौ । देखाउन मात्र हो भने नगरे हुन्छ ।’

स्थानिय शिद्धराज ओझाले पनि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन– ‘गेटा मेडिकल विश्व विद्यालयलाई घटुवा गराउन सफल भएकोमा कैलाली क्षेत्र नम्बर चारका संघिय सांसद तथा नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति मा.बिर बहादुर बलायर,उनका भक्तजनहरु र यो सरकारलाई बधाई छ ।’ सुदुरपश्चिमका नागरिकले अहिले सामाजिक सञ्जालमा व्यापक विरोध गरिरहेका छन् ।

गेटामा एक सय शय्याको अस्पताल सञ्चालनमा ल्याउने र स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने उल्लेख गरेपछि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलन चर्काउने गेटा मेडिकल कलेज सञ्चालानार्थ संघर्ष समितिको तयारी छ । बुधबार बिहान अत्तरियामा बसेको संघर्ष समितिको बैठकले आन्दोलन गर्ने तयारी गरेको हो । आन्दोलनबारे विस्तृत विवरण सार्वजनिक गर्न संघर्ष समितिले आज (बुधबार) साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

संघर्ष समितिले १८ गते बिहान ९ देखि १० बजेसम्म अत्तरियामा एक घण्टा चक्काजाम गर्ने निर्णय गरेको छ भने १८ गते नै प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । संघर्ष समितिले पूर्व संघीय सांसद डाक्टर दिपकप्रकाश भट्टको संयोजकत्वमा सल्लाहकार समिति गठन गर्ने निर्णयसमेत गरेको छ । आज बिहान बसेको संघर्ष समितिको बैठकले आन्दोलन प्रभावकारी बनाउन बिभिन्न जिम्मेबारी समेत तोकेको छ ।

बुधबार बिहान संघर्ष समितिले अत्तरियामा आयोजना गरेको छलफलमा सहभागिले गेटामा विश्वविद्यालय हुन नदिन मेडिकल माफियाको इसारामा काम हुन थालेको भन्दै त्यसको विरोधमा सघर्षका कार्यक्रम गर्न सुझाएका थिए ।

चुरे गाउँपालिका दादुरा रोग सम्बन्धी सूचना
Leave A Reply

Your email address will not be published.