अत्तरिया : सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएँको छ । खप्तडमा गंगादशहरा मेला (जात्रा) सुरु भए संगै यस क्षेत्रमा हिन्दु धर्मालम्बी तथा पर्यटकहरुको भिड लागेकाले थप रौनक छाएँको हो ।
प्रत्येक बर्ष जेठ शुक्ल दशमीको दिनमा गंगा दशहरा मेला लाग्ने गर्दछ । गंगा दशहरा मेला हेर्नका लागि देश तथा विदेशवाट समेत श्रद्धालु भत्तजनहरु खप्तड पुगेका छन । खप्तडमा रहेको त्रिबेणीमा स्नान गर्नाले मानिसहरु गरेका सबै पापहरु नाश भएर जाने धार्मिक विश्वास गरिदै आएको छ ।
त्यस्तै खप्तड क्षेत्रमा पहिलो पटक यही जेठ २३, २४ र २५ गते अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा हुन लागेको सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यको पनि सहभागिता रहने बताईएको छ ।
प्राकृतिक सौन्दर्यताले भरिएको खप्तड क्षेत्र जहाँ पुगेपछि नौलो संसारमा पुगेको महसुस हुन्छ । सायद त्यसैले होला खप्तड क्षेत्रलाई अर्को स्वर्गको नाम दिइएको छ । सुदूरपश्चिम प्रदेशका पहाडका चार जिल्लाहरु बाजुरा, बझाङ्ग, अछाम र डोटीको केन्द्र बिन्दुमा पर्ने खप्तड नेपालकै सुन्दर पर्यटकीय क्षेत्रहरु मध्येको एक हो ।
भू-स्वर्गका रुपमा समेत वर्णन गरिएको खप्तड प्रकृतिको अनुपम उपहार हो । यहाँ आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रंगीबिरंगी फूलले ढकमक्क हुने भएकाले धार्मिक हिसाबले मात्रै नभइ पर्यटकीय हिसाबले पनि यसको महत्व धेरै रहेकाे स्थानीय जानकारहरु बताउँछन् ।
२२ पाटन र ५२ झोती रहेको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह (खप्तड ताल), शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुंगा, भलाउने पाटनजस्ता धार्मिक स्थलहरुका कारण पर्यटकका लागि आर्कषककाे केन्द्रविन्दु बनेकाे छ ।
पौराणिक कालमा ऋषिमुनिहरुले तपस्या गरेको यस क्षेत्र पुराणमा समेत ‘खेचरादी’ पर्वतका रुपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम बिस्तारै खप्तड रहन गएको भन्ने जानकारहरु बताउँछन् । पौराणिक कालमा कौरव र पाण्डवको युद्ध हुँदा पाण्डवहरुले चौध वर्ष वनबास बस्दा केही समय खप्तडमा बिताएको किम्वदन्ती रहेको छ । खप्तडमा भिमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट थुम्का (झोती) बनेका भन्ने पनि किम्वदन्ती रहेको छ । यस वर्ष दशहरा मेलालाई व्यवस्थित बनाउन जाँड रक्सी पूर्णरुपमा बन्देज गरिएको छ ।
खप्तड क्षेत्र ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो । खप्तडमा खप्तड बाबाको आगमनपछि स्थानीयले राजा बिरेन्द्रलाई आग्रह गर्दा २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको थियो ।
फोटो : तिर्थ नेपाली,डोटी