काठमाडौं : छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् ।
सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ ।
छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । अर्थाभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
राष्ट्रपतिद्वारा छठको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । छठपर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिदै उनले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गरेिन् ।
राष्टपति भण्डारीले सन्देशमा भनेकी छन्, ‘छठपर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।’ राष्ट्रपति भण्डारीले छठको पावन अवसरमा विश्वभर रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
प्रधानमन्त्रीद्वारा छठको शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले तराई-मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवद्र्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गरे । विगतमा विशेषगरी तराई-मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको उल्लेख गर्दै उनले हाम्रा सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले यी पर्व तथा संस्कृतिले हाम्रो समाजलाई स्वच्छ र पवित्र राख्न, एकापसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न तथा समाजलाई गतिशील र जीवन्त तुल्याउन सहयोग पु¥याउँदै आएका बताए । कोभिड–१९ र डेङ्गी जस्ता रोगको जोखिम कायमै रहेको सन्दर्भमा जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गर्दै यस वर्षको छठ पर्व हर्षोल्लासपूर्वक मनाउन उनले सबैमा आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले छठ पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्दै सबैमा शुभकामना व्यक्त गरेका छन् ।