कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी

टीकापुर : कैलालीको टीकापुर नगरपालिका केन्द्र र वडा नम्बर-१ को कार्यालयमा भूमिहीन सुकुम्वासीहरूले तालाबन्दी गरेका छन् । सुकुम्वासीहरूलाई जग्गा उपलब्ध गराउनका लागि गठित भूमि आयोगले प्रदान गर्ने निस्सा वितरणमा ढिलाइ गरिएको भन्दै सुकुम्वासीहरूले नगरपालिका केन्द्र र वडा नम्बर-१ को कार्यालयमा आज ११ बजेदेखि तालाबन्दी गरेका छन् ।

नगरपालिकाले वडा नम्बर ६ मा सुकुम्वासीहरूका लागि निस्सा वितरणको कार्य सुरु गरेको भए पनि अन्य वडाहरूमा सुरु नभएको भन्दै आक्रोशित भूमिहीन सुकुम्वासीहरूले पालिका केन्द्र र वडा कार्यालयमा तालाबन्दी गरेको आन्दोलनका संयोजक पूर्णबहादुर खड्काले बताए । ‘अन्य पालिकाहरूमा पुर्जा वितरणको कार्य सुरु भइसकेको छ, हामीकहाँ अझै निस्सा वितरणको समेत टुंगो छैन’ खड्काले भने ‘तत्काल निस्सा वितरण नगरे हामी संघर्षका थप कार्यक्रमहरू गर्नेछौं ।’

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले माग उठाउनु उचित भए पनि सेवा प्रवाह नै रोक्नु कानुन विपरीत भएको बताउँदै ताला खोल्ने प्रयास भइरहेको बताए । ‘कार्यालय समयमा सेवा प्रवाह रोकिने गरी तालाबन्दी गर्नु कानुन विपरीत हो’ प्रमुख रानाले भने ‘तत्काल ताला खोलेर शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सक्नुहुन्छ । हामी ताला खोल्ने प्रयास गरिरहेका छौं ।’

भूमिहीन सुकुम्वासीहरूले तालाबन्दी गरेपछि वडा र केन्द्रको काम प्रभावित बनेको छ । उनीहरूले नगरपालिकाका कर्मचारीहरूलाई बाहिर पठाएर तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण सेवा प्रवाह समेत ठप्प रहेको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.