अत्तरिया : कैलालीमा दुई पालिका बीच सीमाना विवाद रहेको छ । चुरे गाउँपालिका र गौरीगंगा नगरपालिका बीच सिमा विवाद चर्किएको हो । दुबै पालिकाको विवादका कारण नदीजन्य पदार्थ उत्खननमा लफडा भईरहेको छ । शिवगंगा, टाँकागणा र बालुवाखोला लगायत नदीहरुको नदीजन्य पदार्थ उत्खननमै सीमा विवादका कारण लफडा हुँदै आएको छ ।
चुरे गाउँपालिकाको तीन हजार हेक्टर भू–भाग गौरीगंगाले कब्जा गरेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताएका छन् । जिल्ला समन्वय समिति र प्रदेश सरकारबाट सीमाना विवादको समाधान नभएपछि चुरे गाउँपालिका मुद्दा दायर गर्ने तयारीमा छ । गाउँपालिकाका अध्यक्ष बोगटीले मुद्दाको तयारीमा रहेको बताएका हुन् ।
गौरीगंगा नगरपालिकाले चुरेको भू–भाग नै कब्जा गरेर नदीजन्य पदार्थको उत्खनन गर्दै आएको आरोप अध्यक्ष बोगटीको छ । सीमानाभन्दा ४-५ किलोमिटर भित्र पसेर नदीजन्य पदार्थ उत्खनन हुँदै आएपनि रोकटोक कहिँकतैबाट नभएपछि सर्वोच्च अदालतमा आफ्नो भू–भाग कब्जा विरुद्ध रिट दायर गर्ने तयारी भइरहेको उनले बताए ।
‘सीमाना विवाद टुंगिएको छैन । गौरीगंगाले हाम्रो क्षेत्रमा अहिले पनि गिट्टि बालुवा उठाउदैछ । दुई करोड ५९ लाखको ठेक्का मिलोमतोमा एक करोडमा दिएर हाम्रो क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्दैछ । सीडियो, जिल्ला प्रहरी, जिल्ला समन्वय र मुख्यमन्त्रीले समेत यो विषयलाई गम्भीर रुपमा लिएका छैनन् । सबैलाई पटक पटक जानकारी गराउँदा पनि कतैबाट सुनुवाई नभएपछि सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छु ।’ उनले भने ।
उता गौरीगंगा नगरपालिकाका नगरप्रमुख देवीदत्त कडेलले विवाद समाधान नभएको तर भुलोल, जनसंख्या र दशौ वर्षदेखि उपभोग गर्दै आएको भूमि गौरीगंगाकै भएकाले हामीले उपयोग गर्दै आएको बताए । ‘चार वर्ष पहिला पनि मुख्यमन्त्री कार्यालयमा छलफल भएको थियो । चुरे गाउँपालिका र हाम्रो बिचमा आ–आफ्नो धारण छ । जिल्ला समन्वय समितिको बैठकले गौरीगंगा नगरपालिकाको सीमाना निर्धारणका लागि बहस थालेको छ । प्रदेश सरकार गठनपछि काम हुन्छ ।’ उनले प्रदेश सरकार र नापीबाट नापनक्सा गराएर सीमा समस्यालाई हल गर्न पनि सकिने बताए ।
चुरे ४ नम्बर वडाबासिहरुले पनि आफ्नो क्षेत्रबाट नदिजन्य पदार्थ उत्खनन् गरेकोमा आपत्ती जनाएका छन् । स्थानिय शिव पार्वती सामुदायिक वनका अध्यक्ष किशोर मगरले गौरीगंगा नगरपालिकाले अबैधरुपमा चुरेका नदीहरुबाट नदिजन्य पदार्थहरु उत्खनन गरिरहेको बताए । उनले चुरेका नदीहरुमा दैनिक एक सय भन्दा बढी ट्याक्टरहरुले ढङ्गा,बालुवा लैजाने गरेको बताए ।
अर्का स्थानिय हेम बहादुर बिश्वकर्माले जबरजस्ती चुरेका नदीहरुबाट नदीजन्य पदार्थहरु लगिरहेको बताए । उनले चुरेको क्षेत्र भनेर जानकारी गराउदा गराउदै पनि ठेकादारका मान्छेहरुले बिभिन्न धम्की दिएर अबैध उत्खन्न गरिरहेको बताए ।
कैलालीका सबै नदीहरुमा सीमाना विवाद
पूर्वी कैलालीको कर्णालीदेखि पश्चिम मोहना नदीमा पनि सीमाना विवाद छ । मोहना नदीमा गोदावरी र कृष्णपुर नगरपालिका तथा शिवगंगामा गौरीगंगा नगरपालिकासँग सिमाना विवाद छ ।
गोदावरी र गौरीगंगा नगरपालिकाको चुरे गाँउपालिकासँग, मोहन्याल गाँउपालिकाको गौरीगंगा, घोडाघोडी र लम्कीचुहा नगरपालिकासँग सीमाना विवाद छ । लम्कीचुहा नगरपालिकाको टीकापुर नगरपालिकासँग कर्णाली नदी क्षेत्रमा पनि सीमाना विवाद छ ।
समन्वय समितिका सभापति पदम कलेलले जिल्लाका चुरे गाउँपालिकासँग बढी सीमाना विवाद रहेको बताए । उनले समाधानका लागि नयाँ प्रदेश सरकार आवश्यक हुने तर्क गरे ।
‘मौखिक, लिखित रुपमा निवेदन आएका छन् । हामीले टुंगो लगाउने प्रयास पनि गरेका थियौ । तर भएन् । हामीले प्रदेशमा पठाउने हो । प्रदेश सरकार गठन भएको छैन् ।’ उनले भने ।
कैलाली र बर्दीयाबीच पनि सीमाना विवाद छ । कर्णालीमा दुई जिल्लाको सीमाना विवाद छ । समाधानका लागि काम भएको छैन् । चुरे क्षेत्रका दुई स्थानीय तहको सीमाना विवाद सबैभन्दा बढी छ ।