लिङ्गेश्वर धाम कटानको जोखिममा 

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस पर्यटकीय क्षेत्र लिङ्गेश्वर धामको अस्तित्व जोखिममा परेको स्थानीय बताउँछन् ।

‘विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यसपटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पु¥याएको छ’, स्थानीय महेन्द्र बोहराले भने,‘समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।’ कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण, संवर्द्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उहाँको माग छ । लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

‘बेदकोटको चिनारीका रूपमा रहेको लिङ्गेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ’, अर्का स्थानीय कपिल जोशीले भने,‘नगरलाई देश–विदेशमा चिनाएको छ, त्यसैले यसको संरक्षण आवश्यक छ ।’ बाढीले लिङ्गेश्वर क्षेत्रमा पर्यटकहरूका लागि तस्बिर खिच्न निर्माण गरिएको ‘सेल्फी वाल’ बगाएको छ । यस्तै धाम क्षेत्रमा रहेको लिङ्गेश्वर मन्दिर कटानको उच्च जोखिममा छ ।

‘नदीले कटान गरेर मन्दिर बगाउने स्थिति छ, एक मिटरमात्रै बाँकी छ’, बेदकोट नगरपालिका–४ का अध्यक्ष नरबहादुर बोहराले भने,‘फोटो खिच्न बनाइएको सेल्फी प्वाइन्ट बगाएको छ ।’ उनका अनुसार बाढीले लिङ्गेश्वर जोड्न बगुन खोलामा निर्माणाधीन झोलुङ्गे पुलको ढङ्गाले निर्माण गरिएको पिलर पनि बगाएको छ । ‘तटबन्ध बगाएर बाढीले क्षति गरिरहेको छ, अहिले तटबन्ध गर्नु र नगर्नुको अर्थ छैन, बाढीले बगाउँछ’, उनले भने,‘अहिले सामान्य ढुङ्गा राखेर अस्थायी तटबन्ध गरेका छौँ ।’

आन्तरिक पर्यटनको रोजाइमा पर्न थालेपछि बेदकोट नगरपालिकाले लिङ्गेश्वर धाममा विभिन्न भौतिक संरचना निर्माण गरेको थियो । स्थानीय तहको बजेटले मात्रै लिङ्गेश्वर धाम कटानको दीर्घकालीन समाधान गर्न नसकिने बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले बताए । प्रदेश र सङ्घ सरकारसँग थप बजेट माग गरेर कटान समस्याको दीर्घकालीन समाधान खोजिने उनले बताए । ‘नगरपालिकाको बजेटले मात्रै यो सम्भव छैन, करोडौँ लगानी लाग्ने देखिन्छ’,उनले भने,‘यसका लागि प्रदेश र सङ्घ सरकारको ध्यानाकर्षण गराउँछौँ ।’

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.