अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले खुटिया खोला प्रकरणमा भ्रष्टाचार गरेको प्रमाणित भए राजिनामा दिन तयार रहेको बताए । नगरपालिकाले आईतवार गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख भट्टले नदी जन्य पदार्थको राजस्व संकलनमा कुनै अनियमितता नभएको दाबी गरे । उनले खुटिया प्रकरणमा भ्रष्टाचार गरेको प्रमाणित भए तुरुन्तै राजिनामा दिने बताएका छन् ।
नगरप्रमुख भट्टले आफुलाई लगाईएको दोष निराधार रहेको र दोष प्रमाणित भए पदबाट राजिनामा दिने बताएका हुन । नगरपालिकाले आफैले राजश्व संकलन गर्न नचाहेको बताउदै ६/७ चोटी टेण्डर खोल्दा पनि कोही नआएपछि बाध्यात्मक परिस्थितिमा काम गर्नुपरेको उनले बताए । उनले सामाजिक सञ्जालमा कार्यकर्ता पालन पोषण गरेको भन्ने आरोप मित्थ्या भएको बताएका छन् । ‘करोडौको भ्रष्टाचार भनेका छन्, कार्यकर्ताहरु पालनपोषणको काम भनेका छन् । तर जम्मै काम कर्मचारीबाट भइरहेको छ । एक रुपैया पनि भ्रष्टाचार भएकोे भए त्यसको जिम्मेवारी लिन म त्यसको लागि तयार छु,’ भट्टले भने, ‘७ करोडको ठेक्का खोलेका थियौ शुरुमा कसैको परेन साढे ५ करोडको ठेक्का खोलियो त्यो पनि परेन फेरी ४ मा झारे त्यो पनि परेन । पटक पटक पनि ठेक्का आह्वान गर्दा पनि नभएपछि बाध्यात्मक परिस्थितिमा संकलन गर्ने अवस्था आयो ।’
उनले राजश्व बढी उठाउन व्यवहारिकता अपनाउनुपरेको र त्यसलाई पारदर्शी बनाउन टोकन राखिएको बताए । ठुलो सँख्यामा सवारी साधन भएका क्रसरहरुबाट छाप लगाएको अडरसिलीप लिने र हामीले सम्बन्धित ठाउँसम्म जानका लागि त्यो दिने गरेको बताए । त्यसको एक हप्ता भित्र त्यो लाइ मिलान गर्ने भन्ने उद्देश्यका साथ गरिएको उनले बताए । उनले नगपालिकाको राजश्व कसरी बढी भन्दा बढी उठ्छ भन्ने आसयमा चाहि त्यो काम गरिएको जिकिर गरे । उनले सेतो पानामा दिईएको टोकन पारदर्शिताकै लागी भएको बताए । ‘हिजोका दिनमा तिन ओटा खोलामा तिन ओटा कर्मचारी बसेर आफ्नो डायरीमा एक प्लस एक गरेर जोडेको पारदर्शि हुन्थ्यो की दुवैको टोकन एक आपसमा मिलाएको पारदर्शि भयो ?’ उनले प्रश्न गरे ‘अहिले क्रसर व्यवसायी र नगरपालिका दुवै तिरको हिसाब एकैतिर मिलाउन सकिने गरी पारदर्शी बनाएका छौ । यसलाई ठुलो ईस्यु बनाउनुपर्ने औचित्य छैन ।’
नगरप्रमुख भट्टले आफुलाई लगाईएको दोष निराधार रहेको र दोष प्रमाणित भए पदबाट राजिनामा दिने बताए । यदि १ रुपैया पनि भ्रष्टाचार भएको प्रमाणित भए अत्तरिया चोकमा झुन्डिएर मर्न समेत तयार रहेको बताए । उनले कर्मचारीहरुले पनि उक्त कुरामा भ्रष्टाचार गरेको भेटिए तुरुन्तै कारबाही गर्ने बताए । ‘म काठमाण्डौँ थिए मलाइ यो बारेमा जानकारी नी थिएन । तथापी म आइसकेपछि साथीहरुसंग बसे र प्रश्न पनि गरे । उँहाहरु (क्रसर उधोग) ठुला व्यवसायीहरु पनि हुन् । उनीहरुले नदिजन्य पदार्थहरु उठाइ दिएनन् भने हाम्रो राजस्व पनि नउठ्ने भएको कारणले गर्दा पनि उँहाहरुलाई एउटा व्यवहारीक पक्ष हेरेकोे मैले देखे,’ भट्टले भने,’ त्यसमा कहि कतै पनि तलमाथि भएको देखिदैन । यदि कसैले पनि १ रुपैया पनि भ्रष्टाचार भएको देखाउँछ वा प्रमाणित गर्न सक्छ भने यहि अत्तरिया चोकमा झुन्डिएर मर्न तयार छु । तर यस्ता अनादर कुरा कसैलाइ पनि नगरीदिन विनम्र अनुरोध गर्दछु ।’ मेयर भट्टले प्रतिपक्षले नगरपालिकालाई रचनात्मक सुझाब दिनुपर्नेमा समेत जोड दिए ।
नगरपालिकाका जिन्सी शाखा प्रमुख एवम् ठेली वितरण तथा राजस्व दाखिला समितिका संयोजक गणेश पनेरुले नगरपालिकाले सेतो पानामा छाप हानेर राजश्व हिनामिना गरेको भन्ने विवादमा सत्यता नरहेको बताए । उनले त्यसबारेमा छलफल हुँदा नगरपालिकाको राजश्व बढाउने बाहेक अरु कुनै पनि किसिमको आशय नरहेको बताए । उनले नगरप्रमुख प्रति लगाईएको आरोप पनि निराधार रहेको बताए ।
उनले भने ‘मेयरले राजश्व खान लाग्यो भन्ने आरोप मित्थ्या हो । यसको बारेमा मेयर सापलाई जानकारी नै थिएन । उहाँले निर्णय गरेर काठमाण्डौ जानुभएको हो । हामीसँग सबै कागजात पनि छन ।’ उनले क्रेसरहरुलाई दिईएको उदारो हप्तामा जम्मा हुने गरेको बताए । विवाद आएपछि भने नगरपालिकाले उदारो बन्द गरेको र त्यस विषयलाई लिएर ट्याक्टर व्यवसायीहरुले आन्दोलन गरेको उनले बताए । उनले आगामी दिनमा कसरी राजश्व उठाउने भन्ने विषयमा कार्यपालिकाले कार्यविधि बनाउने र त्यही अनुसार हुने बताए ।
नगरपालिकाले खुटिया नदीमा नदीजन्य पदार्थ उठाउँदा नगरपालिकाको बिल दिनुको साटो सेतो चिट दिने गरेको भन्दै नेकपा एमालेले बिरोध समेत गरेको थियो ।