अत्तरिया: कैलालीको गोदावरीमा भोलिबाट सञ्चालन हुने प्याब्सन फेस्टिवल कार्यक्रम स्थगित गरिएको छ । पोखरामा आज भएको जहाज दुर्घटनाको शोकमा गोदावरी प्यावसनले आज एक प्रेस विज्ञप्ति निकाल्दै स्थगित भएको जनाएको हो ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्यावसनले कार्यक्रमहरु तत्कालका लागि स्थगित गरिएको विज्ञप्ति उल्लेख छ । ‘हृदयविदारक र अत्यन्तै अप्रिय यस दुर्घटनामा जिवन गुमाउने प्रति प्याब्सन गोदावरी नगर कमिटी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
उक्त कार्यक्रमहरु ४ गते बुधबारबाट सञ्चालन हुने प्रेस विज्ञप्तिमा भनिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ र १५ को बीचमा आज बिहान यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो ।
दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।