धनगढी : सुदूरपश्चिम यातायातका व्यवसायी संघका पूर्वअध्यक्ष तथा संस्थापक सदस्य हरिप्रसाद पाण्डेयको उपचारका क्रममा निधन भएको छ । आन्द्रामा समस्या देखिएपछि नर्भिक अस्पताल काठमाण्डौँमा उपचारका क्रममा ७१ वर्षीय पाण्डेयको आज बिहान निधन भएको हो ।
पाण्डेको निधनले यातायात क्षेत्रमा अपुरणीय क्षती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताए। उनले सरल स्वभावका पाण्डेयले यातायातको क्षेत्रमा पु¥याउनु भएको योगदान कहिले बिर्सन नसकिने बताए ।
सुदुरपश्चिम यातायात व्यवसायी संघ पुर्व अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदुरपश्चिम संयोजक टेकराज जोशीले सुदुरपश्चिम क्षेत्रमा सार्वजनिक यातायातको जग बसाल्ने काममा पाण्डेयको योगदान रहेको बताए । उनले विषम परिस्थितिमा समेत सम्पूर्ण यातायात व्यवसायीहरुलाई एकजुट बनाई सार्वजनिक यातायातको क्षेत्रमा उल्लेखनीय योगदान रहेको भन्दै पाण्डेयको निधनले स्तब्ध बनाएको बताए ।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले पाण्डेको निधनले प्रालिले अभिभावक गुमाउनु परेको पीडा सदैव रहने बताए । अध्यक्ष सापकोटाले पाण्डेयको दाहसंस्कार आजै काठमाडौ स्थित पशुपतिमा गरिने जानकारी गराए । अध्यक्ष सापकोटाले पाण्डेयको निधनमा आज एकदिन कार्यालय बन्द रहने समेत बताए ।