कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता महिलाको शव फेला, बाघ नियन्त्रणमा

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ । महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएलगत्तै सोही स्थानमा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डांगीले बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको बताए ।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइका गंगा चन्दको शव आज बिहान फेला परेको हो । शुक्रवार बिहान चन्दलाई बाघले आक्रमण गरेको हो । चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो । सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए ।

प्राविधिक टोलीले करिब २२ घण्टापछि आज बिहान बाघ नियन्त्रणमा लिन सफल भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्‍याइएको बताए । उनले केही समय बाघलाई निगरानीमै राख्ने र पछि विभागको निर्देशनअनुसार थप निर्णय लिने बताए ।

सो घटनापछि दक्षिण क्षेत्रका स्थानीय त्रसित छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.