बैतडीमा खानेपानीको समस्या

बैतडी : बैतडीको दशरथचन्दमा खानेपानीको समस्या भएको छ । दशरथचन्द नगरपालिका–१ स्थित मुस्याचोरमा खानेपानीको चरम अभाव भएको हो । मुस्याचोरसंगै गुरुखोला बजारमा पनि खानेपानीको अभाव भएको स्थानीयहरुले बताएका छन् ।

हरेक वर्ष सुख्खायाममा खानेपानीको अभाव हुँदै आएको स्थानीय व्यापारी मानबहादुर टेरले बताए । मुस्याचोर र गुरुखोलामा श्रीखण्डको खोलामा रहेको मूहानबाट खानेपानी आउने गरेको छ। लामोदुरीमा रहेको र खानेपानी लाइन समेत जीर्ण भएकाले सुख्खायाममा खानेपानीको चरम समस्या हुने गरेको छ।

मुस्याचोर बजारमा एकमात्रै पानीको धारा रहेको सोही धाराबाट बजार र गाउँका मानिसहरुले पानी भनुपर्ने भएकाले खानेपानीको व्यवस्थापनमा समस्या भएको छ । पालो कुरेर मात्रै पानी भर्नुपर्ने अवस्था रहेको स्थानीय भीमराज भट्टले बताए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सहयोगमा पडेलीगाउँ–मुस्याचोर–गुरुखोला लिफ्टिङ खानेपानी योजनाको काम भइरहेको भएपनि पूरा हुन अझै केही समय लाग्ने देखिएको छ ।

लिफ्टिङ खानेपानीको काम सम्पन्न भएपछि मुस्याचोर र गुरुखोलामा खानेपानीको समस्या समाधान हुने दशरथचन्द नगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष विष्णुदत्त भट्टले बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.