गोदावरी नगरपालिकाले सुरु गर्यो नयाँ भवनबाट सेवा दिन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर २ मा निर्माण गरिएको भवनबाट सेवा दिन सुरु गरेको हो ।

नयाँ भवनमा सेवा सुरु गर्नका लागि अधिकांस शाखाका सामानहरु नयाँ भवनमा सार्ने काम सकिएको छ । लेखा र जिन्सी शाखाका केही सामान नयाँ भवनमा ल्याउन बाँकी भएपनि अन्य शाखाका सामान नयाँ भवनमा ल्याइसकिएको नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले बताएका छन् ।

नगरपालिकाले साउन भित्रै नयाँ भवनबाट सेवा सूचारु गर्ने भनेर यसअघि नै असार २८ गते पुजाआजा गरेको थियो । एशियाली विकास बैंक (एडिवि) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत भवनको निर्माण गरिएको हो । भवन निर्माणका लागि एम-एस शर्मा एण्ड कम्पनी संग २०७६ साल मंसिर २० गते ठेक्का सम्झौता गरिएको थियो ।

सम्झौता अनुसार २०७८ साउन २० गते भवन निर्माणको काम सक्नुपर्ने भएपनि भवन निकै ढिला गरि निर्माण सकिएको छ । भवन निर्माणका लागि १० करोड ५५ लाख ५६ हजार ८१५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । भवन निर्माणको काम सकिएको भएपनि क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले नगरपालिकालाई हस्तान्तरण गर्न भने बाँकी रहेको छ ।

यसअघि आफ्नै भवन नहुँदा नगरपालिकाले अत्तरियाको धनगढी रोडमा रहेको भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । भवनको तत्कालिन नगरप्रमुख हरी सिंह साउँदले २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.