चार दिनको बाढीपहिरोमा २१ जनाको मृत्यु, सयौं विस्थापित

काठमाण्डौंँ : पछिल्ला चार दिनको अविरल वर्षा, बाढी र पहिरोका कारण विभिन्न जिल्लामा कम्तीमा २१ जनाको मृत्यु र ५ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४१९ परिवारका १ हजार ४५१ जना विस्थापित भएका छन् ।

सबैभन्दा बढी मानवीय क्षति बागलुङमा १० जनाको मृत्यु र १ जना बेपत्ता हुँदा पाल्पामा ५, म्याग्दीमा १ र धनुषामा १ जनाको मृत्यु भएको छ । अन्य जिल्लामा समेत बाढीपहिरोबाट जनधनको क्षति भएको छ ।

Godawari Nagarpalika

गण्डकी प्रदेशमा १७९ घर पूर्ण र २६ घर आंशिक क्षति, २७० घर जोखिममा तथा १२ गोठ पूर्ण र एक गोठ आंशिक क्षति भएका छन् । ४४ पशु मरेका, ६ पुल पूर्ण र २ पुल आंशिक क्षति भएका छन् । तीन सरकारी कार्यालय पूर्ण, तीन आंशिक क्षति र नौ जोखिममा छन् भने ३ दुईपांग्रे र १५ चारपांग्रे सवारीसाधनमा क्षति पुगेको छ ।

जिल्लागत विवरणअनुसार बागलुङमा २३ घर पूर्ण क्षति, ४ घर जोखिममा, २३ पशु मरेका र २६ घरका ८० जना विस्थापित भएका छन् । पर्वतमा १६ घर पूर्ण, ४ आंशिक र ८२ घर जोखिममा, १६२ परिवारका ५४० जना विस्थापित तथा तीन पुल क्षतिग्रस्त भएका छन् । कालीगण्डकीको बाढीले मालढुंगा पुलमा क्षति पुर्‍याउँदा पर्वत-बागलुङ यातायात ठप्प भएको छ ।

नवलपरासी पूर्वमा १५ घर पूर्ण क्षति, १४८ जोखिममा र १६२ परिवारका ६१३ जना विस्थापित भएका छन् । स्याङ्जामा १३ घर पूर्ण क्षति, १० जोखिममा र २३ परिवारका ७२ जना विस्थापित भएका छन् भने बेलिब्रिजसहित दुई पुलमा क्षति पुगेको छ । तनहुँमा १० घर पूर्ण, ६ आंशिक र ८ जोखिममा, १८ घरका ५४ जना विस्थापित तथा एक जना घाइते भएका छन् ।

लमजुङमा १ घर पूर्ण, ५ आंशिक र ४ जोखिममा, ८ घरका २८ जना विस्थापित र २ जना घाइते भएका छन् । कास्कीमा १ घर पूर्ण, ४ आंशिक र १ जोखिममा, दुई पशु मरेका तथा तीन घरका १० जना विस्थापित भएका छन्। गोरखामा ३ घर आंशिक, १२ जोखिममा, दुई गोठ पूर्ण क्षति र १३ घरका ४३ जना विस्थापित भएका छन् ।

मनाङमा ४ घर पूर्ण, ४ आंशिक, एक गोठ, एक पुल र एक चर्च पूर्ण क्षति भएका छन् । मर्स्याङ्दी नदीको बाढीले ताल गाउँका ११ घर डुबानमा पारेको छ । म्याग्दीमा १ जनाको मृत्यु, १ घाइते र ३ बेपत्ता, ६ घर पूर्ण क्षति तथा चार घरका ११ जना विस्थापित भएका छन् । पोखरेबगरको पुलमा क्षति पुग्दा मुस्ताङ र म्याग्दीका केही पालिका सडक सम्पर्कबाट विच्छेद भएका छन् । मुस्ताङमा एक गोठ पूर्ण क्षति हुँदा १० पशु मरेका छन् ।

पाल्पामा पहिरोमा ५ जनाको मृत्यु भएको छ । माथागढीमा लिलबहादुर घर्तीमगर, डीना घर्ती र झरना घर्ती मगर तथा रुप्सेमा शेरबहादुर चिदी र रिब्दीकोटमा कृष्णकुमारी सारूको मृत्यु भएको हो। कालीगण्डकीले रिडी, रानीमहल, राम्दी लगायतका क्षेत्रमा समेत क्षति पुर्‍याएको छ । धनुषाको मिथिला-११ मा पहिरोले घर पुरिँदा ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको छ ।

यसैबीच नवलपरासी पूर्व र चितवनमा नेपाली सेनाले बाढी तथा डुबान प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । थप क्षतिको विवरण संकलन भइरहेको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.