डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

डडेल्धुरा : निर्वाचनलाई लक्षित गरि डडेल्धुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

जिल्लामा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी बताए । उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ । “तीन वटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका छौँ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र अन्तिम घेरामा सेनाले सुरक्षा दिइरहेका छन्,“ उनले भने ।
प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार निर्वाचनका लागि ’मोबाइल टिम’ पनि परिचालन गरिएको छ । साथै ’रिजर्भ टिम’ तयार पारिएको छ । “रिजर्भ टिम आवश्यकता अनुसार मात्रै परिचालन हुनेछ,“ उनले भने ।

डडेल्धुरामा १०१ मतदानस्थल छन् । ती स्थलमध्ये २३ अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्य रहेका छन् । मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामाग्री र सुरक्षाकर्मीसहितका कर्मचारी पुगिसकेका छन् ।

“कर्मचारी मतदान केन्द्रमा पुगेर सर्वदलीय बैठक पनि भइसकेको छ । बुथ निर्माणको कार्य पनि सुरु भइसकेको छ । भोलिसम्म सबै तयारी पूरा हुन्छ,“ उनले भने ।

एउटा मतदान केन्द्रमा म्यादी प्रहरीसहित सातदेखि १२ जना सुरक्षाकर्मी र आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री देउवासहित आठजना उमेदवार छन् । यस्तै, दुई प्रदेशसभातर्फ १२ जना उमेदवार छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.