दार्चुलामा पहिरोमा पुरिएका ५ जनाको शव भेटियो,९ जना बेपत्ता

८ जना घाइते

दार्चुला : दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले नौगाड गाउँपालिका–२ बस्ने १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव भेटिएको जानकारी दिए । उनका अनुसार महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पनि शव भेटिएको छ ।

यस्तै महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीपहिरोमा परी ९ जना बेपत्ता भएका छन् भने ८ जना घाइते रहेका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

बाढीपहिरोमा परी बेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीया महामरी ठगुन्ना नौगाड–२ दल्लेकका ४० वर्षीया मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धनसिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की रहेको प्रहरीले जनाएको छ । यस्तै महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहु बेपत्ता भएका छन् ।

उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा ठूलो क्षति गरेको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरीले घाइतेहरुको उद्धार गरेर जिल्ला अस्पताल दार्चुलामा पुगाएको छ। बाढीपहिरोमा घाइते भएकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.