बैतडी : बैतडीमा किशोरीको घाँटी रेटेर हत्या गरिएको छ । पञ्चेश्वर गाउँपालिका–४, सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या गरिएको हो । सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३, कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार माया मृत फेला परेकी हुन् । नेहा भने घाइते अवस्थामा फेला परेकी हुन् । माया र नेहाको खोजी गर्दै जाँदा शिवनाथ गाउँपालिका–६, शिवनाथ मन्दिरनजिकै मायाको शव फेला परेको हो ।
पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा भन्ने स्थानमा नेहा घाइते अवस्थामा फेला परेकी हुन् । मायाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
नेहाको पनि घाँटी रेटिएको र उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
