बैतडी : बैतडीको दशरथचन्द नगरपालिका-२ देहिमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । उक्त मन्दिरमा आज जमानी जात्रा भएकाले दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्र बोहराले जानकारी दिए ।
हरेक वर्षको मंसिर शुक्ल पूर्णिमाका दिन निङ्गलाशैनी मन्दिरमा जमानी जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन छ ।
निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन हुने भएकाले टाढा टाढाबाट समेत भक्तजन दर्शनका लागि आउने गरेका छन् । हरेक वर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको विशेष पूजाआजा हुने गरेको छ ।
जात्रामा निङ्गलाशैनी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थी समेत आउने गरेका छन् । जात्रामा निङ्गलाशैनी भगवतीको उत्पतिसँग जोडिएको ठाडो खेल र देउडा समेत खेल्ने गरिएको छ ।
अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भए पनि यो जात्रामा कुनै प्रकारको बलि दिइँदैन । जात्रा अवधिभर देहिमाण्डौँ क्षेत्रमा मदिरा बेचविखन तथा सेवनमा रोक लगाइएको छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुर्दशी, असोजको नवरात्र र धान्य पूर्णिमाका दिन विशेष पूजाआजा सहित जात्रा लाग्ने गर्दछ ।
