दार्चुला : दार्चुलामा एक जनाको हत्या प्रकरणमा अनुसन्धानका लागि वडा अध्यक्षसहित तीन जना पक्राउ परेका छन् । मंसिर ३ गते रातिदेखि बेपत्ता भएका दार्चुलाको ब्यास गाउँपालिकाका नरसिंह विष्ट निर्वाचनको दिन हत्या गरिएको अवस्थामा फेला परेका थिए ।
भोट हाल्न गाउँ जाने क्रममा विष्टको हत्या गरिएको भन्दै परेको किटानी जाहेरीका आधारमा थप अनुसन्धानका लागि प्रहरीले गाउँपालिकाका वर्तमान वडाध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट, पूर्व वडाध्यक्ष ५६ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय स्थानीय मोहनसिंह विष्टलाई नियन्त्रणमा लिएको हो ।
बुधबार उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । दार्चुलाको सदरमुकाम खलंगामा होटल चलाउँदै आएका विष्ट निर्वाचनमा भोट हाल्न भन्दै मंसिर ३ गते घर जान हिँडेको परिवार स्रोतले जनाएको छ ।
भोलिपल्ट पनि घर नपुगेपछि उनको खोजी सुरू गरिएको थियो । सो क्रममा मंसिर ४ गते घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेका थिए । मृतकको शरीरमा चोटपटक पनि देखिएको थियो ।
अनुसन्धानका लागि प्रहरीले सोही ठाउँका २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरेको थियो । मंसिर १२ गते प्रहरीले दीपकको घटनामा संलग्नता पुष्टि भएको भन्दै सार्वजनिक गरेको थियो ।
दीपकले प्रहरीसमक्ष आफूले मादक पदार्थ सेवन गरी विवाद भएका बेला टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको भनेका थिए । यस विषयमा प्रहरीले अन्य केही व्यक्तिको संलग्नता रहेको सूचना पाएपछि अनुसन्धान जारी राखेको छ ।
