अत्तरियाका ठेलाछाप्रा नियन्त्रणका लागी कार्यदल गठन
सडकको अतिक्रमण हटाउन नगरपालिकाले निकाल्यो ७ दिने सूचना
अत्तरिया : कैलालीको अत्तरिया बजारमा रहेका ठेलाछाप्राहरुको नियन्त्रणका लागी कार्यदल गठन गरिएको छ । यहि भदौ १६ गते बिहीबार गोदावरी नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले बजारमा रहेका ठेलाछाप्राहरुको नियन्त्रणका लागी कार्यदल गठन गरेको हो । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलको सदस्यहरुमा अत्तरिया बजार व्यवस्थापन समितिका अध्यक्ष बाजी कामी, ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरिक्षक मिन बहादुर साउँद, सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक रण बहादुर बिष्ट, होटल व्यवसायी संघका प्रतिनिधि रविन्द्र खड्का र ठेला व्यवसायीका प्रतिनिधि चन्द्र प्रसाद न्यौपाने रहनभएको छ ।
यसैगरी वडाबाट प्रतिनिधित्व हुने गरी वडा नं. १ का वडासदस्य गम्भीर साउँद र वडा नं. २ का वडासदस्य देवराज भट्टलाई पनि कार्यदलमा राखिएको छ । कार्यदलले एक हप्ता भित्रै बजारका ठेला छाप्रा व्यवसायीहरुलाई हटाउनुका साथै बैकल्पीक रुपमा निश्चित स्थानको खोजी गर्ने कार्य गर्ने नगरप्रमुख विरेन्द्र भट्टले बताए । उनले कार्यदलले खोजेको स्थानमा ठेला व्यवसायीहरुलाई व्यवस्थापन र नियन्त्रण गर्न नगरपालिकाले पहल थाल्ने बताए । पछिल्लो समयमा बजारमा जथाभावी रुपमा राखिएका ठेला छाप्राहरुका कारण बजारको सुन्दरता हराउनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।
त्यस्तै गोदावरी नगरपालिकाले सडक अतिक्रमण हटाउन ७ दिने सूचना निकालेको छ । यहि भदौ १६ गते बिहीबार गोदावरी नगरपालिकाले एक सूचना जारी गर्दै नगर भित्रका मूख्य सडक तथा सहायक सडकहरुको छेउमा राखेका निर्माण सामग्रीहरुका साथै पसल, फुटपात पेटी किनारामा निर्माण गरिएका टिनको छानो र सडकपेटीमा राखिएका मालसमान हटाउन सूचना जारी गरेको हो ।
नगरपालिकाले सडक अतिक्रमण हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै शुक्रबार देखि ७ दिन भित्रमा सडक खालि गराउन अनुरोध गरेको छ । साथै नगरपालिकाले सडकपेटिमा ठेलागाडा नराख्न पनि आग्रह गरेको छ ।
