कैलालीमा नबिल बैंकको पैसा लुटपाट प्रकरण : ९ वर्षसम्म भेटिएन ‘क्लु’

ट्राफिक प्रहरी बनेर लुटिएको थियो पैसा

कैलाली : कैलालीमा नबिल बैंकको पैसा लुटपाट भएको नौ बर्ष पुग्दा सम्म पनि कुनै टुंगो लागेको छैन् । २०७० मंसिर २६ गते ट्राफिक प्रहरी बनेर नबिल बैंकको दुई करोड ३० लाख रुपैयाँ लुटपाट गर्ने गिरोहसम्म प्रहरी अझै पुग्न सकेको छैन । अनुसन्धानमा ‘क्लु’ नभेटिँदा आपराधिक गिरोहसम्म पुग्न प्रहरी असफल भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व गर्ने अधिकांश डीआईजीले नबिल बैंकको रकम लुटपाट भएको घटनामा चासो दिने गरेका छन् । तर, अनुुसन्धानमा अपेक्षित सफलता हासिल भएको छैन ।

सो दिन कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकबाट धनगढीस्थित नेपाल राष्ट्र बैंकमा जम्मा गर्न ल्याउँदै गर्दा दुई करोड ३० लाख ६० हजार रुपैयाँ र २०० अमेरिकी डलर लुटपाट भएको थियो । कैलालीको गोदावरी-३ मालाखेतीमा हतियारसहित ट्राफिक प्रहरीको भेषमा रहेका लुटेरा समूहले बैंकको म१च १४६ नम्बरको जीपलाई जाँच गर्ने बहानामा नियन्त्रणमा लिएका थिए ।

त्यसपछि सो जीपलाई जंगलमा लगिएको थियो । जंगलमा लगेर जीपका चालक र सवार अरू कर्मचारीको हात टेपले बाँधेर रकम लुटेर आपराधिक गिरोह फरार भएको थियो ।

कैलाली र कञ्चनपुर प्रहरीको टोलीले अनुसन्धान गरिरहेको तर अपराधिक गिरोहसम्म पुग्ने ‘क्लु’ फेला पर्न नसकेको कैलालीका प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले बताए । तत्कालीन समयमा जीपका चालक, त्यसमा सवार तथा बैंकका अरू कर्मचारीलगायत शंकास्पद व्यक्तिमाथि प्रहरीले अनुसन्धान समेत गरेको थियो । तर, प्रमाणको अभावमा आरोप पुष्टि भएन ।

पर्याप्त सूचनाको अभावमा लुटपाट गर्ने गिरोहसम्म पुग्न नसकिएको त्यति बेला अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । तत्कालीन अवस्थामा सुदूरपश्चिम प्रहरी कार्यालयले सादा पोसाकका सबै प्रहरीलाई हटाएको थियो ।

त्यसैको फाइदा उठाउँदै आपराधिक गिरोहले रकम लुटेको र सूचना संकलन नहुँदा उनीहरूले उन्मुक्ति पाएको अनुुसन्धानमा संलग्न अधिकारीहरूको बुझाइ छ । कैलालीमा रकम लुटपाट भएको समयमा धनगढीमा व्यापारिक मेला समेत सञ्चालनमा थियो । रकम दिउँसोको समयमा लुटिएको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.