अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार स्थानीय तहसँग नेपाल बिमा प्राधिकरण विषयक जनचेतना मूलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।
अन्तरक्रिया तथा छलफल कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कृष्णपुर नगरपालिका नगर प्रमुख हेम राज ओझाले महत्त्वपूर्ण कार्यक्रम नगरपालिकामा राखेर कृषकहरूको गुनासो सुनेको प्रति धन्यवाद व्यक्त गर्दै नगरपालिकाबाट गर्न सक्ने र हुन सक्ने सहयोग गर्न तयार रहेको बताए । उनले जीवन बिमालाई भन्दा पनि निर्जीवन बिमालाई बढी महत्त्व दिन प्राधिकरणलाई अनुरोध गरे ।
नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले नगर प्रमुख ओझालाई नगरपालिकाबाट पनि बिमाको विकासमा सहयोग पुर्याउन विभिन्न बिमाका योजनाहरू ल्याई न्यून आय भएका तथा पिछडिएका वर्गका मानिसहरूलाई बिमा मार्फत सुविधा प्रदान गर्न र नगरपालिका भित्र बसोबास गर्ने मानिसहरूको सम्पत्तिको अनिवार्य बिमा गर्ने नीति लागु गर्न पनि अनुरोध गरे ।
अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिहरू तथा कृषि सहकारी संस्थाका सदस्यहरू, अगुवा कृषकहरूका साथै अन्य सरोकारवाला व्यक्तिहरूले बिमा कम्पनीमा बिमा दाबी लिन झन्झटिलो रहेको, दुख दिएको र कुनै बिमा कम्पनीले बिमा गर्न नमानेको जस्ता थुप्रै गुनासो तथा जिज्ञासा राखेका थिए भने उक्त गुनासो तथा जिज्ञासाहरूको जवाफ प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारी, सहायक निर्देशक दीपक ज्ञवाली र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख सागर बमले दिएका थिए ।
प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले कृषि, पशुपन्छी तथा जडीबुटीको बिमा गर्दा लाग्ने बीमाशुल्कमा नेपाल सरकारले ८० प्रतिशत अनुदान दिएको र २० प्रतिशत अनुदान सुदूरपश्चिम प्रदेश सरकारले दिने व्यवस्था गरेको हुँदा सबैलाई बिमा गर्न हुन अनुरोध गरेका थिए।अन्तरक्रिया कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरू, विभिन्न कृषि सहकारीका प्रतिनिधिहरू र कृषकहरू सहभागी भएका थिए ।