काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहाई गर्न माग गर्दै प्रदर्शनकारीले पाँचौ दिन पनि प्रदर्शन जारी राखेका छन्। शान्तिपूर्ण प्रदर्शनमा नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता, थारु कल्याणकारिणीसभा तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितिका प्रतिनिधि सहभागी थिए ।
प्रदर्शनकारीले ‘लाल आयोगको प्रतिवेदन सावर्जनिक गर’, ‘राजबन्दी रिहाइ गर’, ‘टीकापुर घटना राजनीतिकरण गर’, ‘जनताको लागि लडेको, जेलमै सड्नु परेको ?’, ‘न्याय देउ, न्याय देउ रेशमजीलाई बाहिर लेउ’ भन्ने नारा लेखिएका प्लेकार्ड र व्यानरसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा बोल्दै कैलालीका टीकाराम चौधरी जुन सरकार आए पनि थारुहरुको अधिकार सुनिश्चित हुन नसकेको भन्दै दुःख व्यक्त गरे ।
‘निर्दोष मान्छेलाई रिहाइ गर्नुपर्छ भन्ने हाम्रो माग हो । अनि लाल आयोग प्रतिवदेन सार्वजनिक गर्नुपर्दैन ?,’ उनले भने । उन्मुक्ति पार्टीका नेता ललित ताम्राकारले रेशम चौधरी निर्दोष रहेको भन्दै निर्दोष छोरा कतिन्जेल जेलमा बसिराख्नुपर्ने भन्दै प्रश्न गरे । उनले भने, ‘राजबन्दीमाथि अन्याय भएको छ । चुनावमा बहुमतले नै उनलाई निर्दोष भनेर चुनिसके । थारु समुदायलाई अन्यायमा पारेर लोकतन्त्र बचाउन सकिँदैन ।’
उनले जबसम्म रेशम चौधरीलाई रिहाइ नगरुन्जेल संघर्ष जारी राख्ने र उनको रिहाइबिना सरकारमा जानुको औचित्य नरहेको टिप्पणी गरे । प्रदर्शनमा सहभागी जनाउन बाराबाट आएका रामचन्द्र चौधरीले अध्यादेशलाई पारित गर्नुपर्नेमा जोड दिए ।
‘त्यही अध्यादेशलाई टेकेर रेशमसँगै अरु गलत मान्छे छुट्नुभने भएन । यति बुझ्नुपर्छ टीकापुर घटना एउटा शुद्ध राजनीतिक घटना हो,’ उनले भने । प्रदर्शनमा कवि भूमिका थारुले जेलबाटै लेखिएकाे रेशम चौधरीकाे कविता वाचन गरेकी थिइन् ।