अत्तरिया : कैलालीको मालाखेती अस्पताललाई अत्तरियाका व्यवसायीले मानव मृत शरिर चिस्यान यन्त्र हस्तान्त्रण गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको अस्पताललाई आईतबार व्यवसायी मनोज अग्रवालले उक्त यन्त्र हस्तान्त्रण गरेका हुन् ।
गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको उपस्थितिमा उनले स्वर्गिय बुवा मुलचन्द अग्रवालको सम्झनामा अस्पताललाई उक्त यन्त्र हस्तान्त्रण गरेका छन् ।
भैरव सिंगार पसलका सञ्चालक रहेका अग्रवालले सो यन्त्र भारतबाट ल्याएर निःशुल्क अस्पताललाई हस्तान्तरण गरेको बताए । उनले बुवा बित्दा आफुलाई समस्या भएको र सोही समस्या अरुलाई नहोस भन्नका लागी यो यन्त्र अस्पताललाई हस्तान्तरण गरेको बताए ।
मृत मानव शरीर चिस्यान यन्त्र भए आफन्त नआउँदासम्म बरफमा मृत शरीर राख्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । मालाखेती अस्पतालमा यसअघि उक्त यन्त्र थिएन । अस्पतालमा पहिलो पटक मानव मृत शरिर चिस्यान यन्त्र राखिएको हो ।