अत्तरिया : कैलालीको अत्तरियामा आज सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेका छन । दिनदहाडै सडकमा गोली प्रहार गरी व्यवसायीमाथि लुटपाट भएको भन्दै सुरक्षा र आक्रमणकारीलाई पक्राउको माग गर्दै पसल बन्द गरेका हुन् ।
आइतबार साँझ अत्तरियाको पुर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली चल्दा घोडाघोडी नगरपालिका–१ सुख्खडका २८ बर्षीय विकाश सुनार घाइते भएका थिए ।
नम्बर नखुलेको सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुईजनाले सुनारमाथि गोलि चलाएका थिए । उनी दुवै जना फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले बताएका छन । प्रहरीले सुनार संग रहेको तयारी सुनका करिब ३५ तोला सुन लुटेर फरार भएको बताएको छ ।
घाइतेको हाल मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । अत्तरियाको धनगढी रोडमा सुनचाँदी पसल सञ्चालन गरेका सुनारको पसल बाटै गोली प्रहार गर्नेले पिछा गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । सुनार अत्तरियाको उत्तर बनखेतमा बस्दै आएका थिए । उनी घर नजिकै पुग्ने बेला राजमार्गमै गोली प्रहार भएको हो ।
चोकका सिसिटिभि क्यामेरा बिग्रीदा अनुसन्धानमा समस्या
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासु देव भट्टले अहिले सिसिटिभी फुटेज चेकजाँच गर्ने काम भइरहेको बताएका छन । उनले अत्तरिया चोकमा रहेका सिसिटिभि क्यामेरा बिग्रेका कारण अनुसन्धानमा समस्या भएको बताए ।
उनले इलाका प्रहरी कार्यालय अगाडी र घटनास्थलमा रहेको सिसिटिभी क्यामेराको अनुसन्धान भइरहेको बताए । अत्तरिया चोक र वरपर १६ वटा क्यामेरा जडान गरिएका भएपनि सबै बिग्रीएको अवस्थामा रहेको छन ।
