धनगढीमा गोली चल्यो, एकजना घाईते

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा गोली चलेको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको जुगेडा,शिवरामनगर टोलमा आज विहान २ः४५ मा दुई राउण्ड गोली चलेको हो । गोली लागेर एक जना स्थानीय घाइते भएका छन् ।

स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका चोरहरूले गोली प्रहार गरेको विष्टले बताएका छन् । गोली लागेर विष्ट सामान्य घाइते भएका छन् । विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको विष्टले बताए । उता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सीमा क्षेत्रमा राति गोली चलेको पुष्टि गरे ।

उनका अनुसार स्थानीय प्रजापती विष्टको घरमा राति चोरी गर्ने उद्देश्यले ३–४ जना अपरिचित व्यक्तिको समूह प्रवेश गरेको थियो । सो क्रममा विष्टले थाहा पाएपछि घर बाहिर निस्किदा हातपात गर्दा उनी घाइते भएका छन् । उक्त समूह विष्टको घरबाट गएपछि सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको बताउदै डीएसपी जोशीले गोली चलाउने व्यक्तिको पहिचान नभएको बताए ।

गोलीका खोकाहरु फेला परेको उनले छन् । विष्टमाथि भने गोली प्रहार नभएको प्रहरीको भनाइ छ । लछारपछार गर्ने क्रममा उनी घाइते भएको डीएसपी जोशीले बताए । स्थानीयलाई तर्साउने उद्देश्यले चोरी गर्ने उद्देश्यले घरमा पसेको समूहले गोली चलाएको हुनसक्ने उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुई वर्ष अघि जुगेडामा तस्करको समूहले दुई जना प्रहरीको हत्या समेत गरेका थिए । आइतबार साँझ मात्र कैलालीको अत्तरियामा अज्ञात समूहको गोली प्रहारबाट सुन व्यवसायी घाइते भएका थिए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.