बैतडीमा अस्पताल निर्माणको विषयमा झडप हुँदा ३५ जना घाइते

बैतडी : बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माणका विषयमा विवाद चर्किएपछि दुई पक्षबीच झडप भएको छ । वडा नम्बर १ र ७ का स्थानीयबीच अस्पताल निर्माणका बिषयमा विवाद भएको हो ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै दबाब दिनका लागि वडा नं ७ का स्थानीय बासिन्दाले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए । त्यसका विरुद्धमा वडा नं १ का बासिन्दाले बुधबार नाराबाजी गरे । उनीहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने र त्यो कार्य नगरपालिकाले अगाडि बढाउनुपर्ने माग राखेका छन् ।

बिहीबार दुवै पक्षले नाराबाजी गर्दा झडप भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार झडपमा ३५ जना घाईते भएका छन् । झडपमा वडा नं ७ का २५ जना घाइते भएका छन् भने वडा नं १ का १० जना घाइते भएका उनले बताए ।

अस्पतालको नाममा वडा नं १ र ७ दुवै ठाउँमा जमिन हुँदा कुन ठाउँमा बनाउने भन्ने विषय अहिलेसम्म सुल्झेको छैन । २०७० सालदेखि अस्पताल निर्माणको कुरा उठेपनि स्थानीयहरुबीच विवाद हुँदा अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन । अस्पतालकै विषयलाई लिएर दुवै पक्षले बेलाबेला नगरपालिकामा तालाबन्दी गर्दै आएका छन् ।

 

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.