अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा भदौ महिना पछि संकलन गरिने नदीजन्य बस्तुमा रोक लगाईने भएको छ । असार, साउन र भदौ महिनामा मात्रै नदीजन्य बस्तु उत्खनन्मा रोक लगाइने गरिएको भएपनि यो बर्ष भने भदौ पछि पनि रोक लगाइएको हो ।
बिहिबार नगरपालिकाले एक सूचना जारी गर्दै नदीजन्य पदार्थ संकलनका लागि ठेक्का प्रक्रिया नसकिएकाले रोक लगाइएको जनाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले खुटिया, खैराना र गोदावरी नदीबाट नदीजन्य पदार्थको ठेक्का प्रक्रिया टुङ्गिन अझै केही दिन लाग्ने बताए । उनले ठेक्का प्रक्रिया सम्पन्न नहुँदा सम्मका लागि नदीजन्य पदार्थ संकलनमा रोक लगाइएको बताए ।
नगरपालिकाले बर्षातको समयमा प्रत्येक बर्ष ३ महिना नदीजन्य पदार्थ संकलनमा रोक लगाउने गरेको छ । यसअघि नगरपालिकाले जेठ महिनामा एक सूचना जारी गदै ३ महिनाका लागि नदीजन्य बस्तु उत्खननमा रोक लगाएको थियो ।
नगरपालिकाले यी तिन वटै नदीमा ठेक्का प्रक्रिया मार्फत नदीजन्य पदार्थ निकाले बाफतको रोयल्टी संकलन गर्दै आएको छ ।
