अत्तरिया : कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयको दुई कोठे पक्कि भवनको शिलान्यास गरिएको छ । गोदावरी नगरपालिका वडा नं. २ मा रहेको उक्त विद्यालयको दुई कोठे पक्कि भवनको आईतबार एक कार्यक्रमका बिच नगरप्रमुख विरेन्द्र भट्टले शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले नयाँ भवनले विद्यार्थीको पठनपाठनमा सहजता प्रदान गर्ने बताए । उनले आफु निर्वाचित भएलगत्तै विद्यालयको अनुगमनमा आएको र यहाँको मुख्य समस्या नै भवन देखेपछि प्रदेश सरकारसँग समन्वय गरि भवन निर्माण सुरु गरेको बताए ।
उनले प्रदेशकै एकमात्र अपांगतामैत्री तथा समावेशी विद्यालय भएकाले उक्त विद्यालयलाई सुदूरपश्चिमकै नमुना विद्यालयका रुपमा विकास गर्न सबैले सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा भवन निर्माण भैरहेको विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले बताए । उनले दुई कोठे भवन निर्माण भए विद्यार्थीहरुलाई पठनपाठनमा सहज हुने बताए ।
‘अहिले विद्यार्थीहरु एउटै कक्षाकोठामा अध्यापन गरेर सोही कोठामा सुत्ने गर्दछन’ उनले भने ‘भवन निर्माण भए अलग्गै कोठामा पढ्न पाउनेछन,विद्यार्थीहरुलाई सहज हुनेछ ।’ भवन निर्माणका लागी मन्त्रालयबाट १९ लाख रकम छुट्याईएको छ । उक्त भवन उपभोक्ता समिति मार्फत निर्माण भैरहेको संस्थापक अध्यक्ष साउँदले बताए ।