अत्तरिया : कैलालीको गोदावरी आर्यघाटमा बुधबार भेटिएको मानव कंकाल गायव भएको छ । बिहिबार इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थलमा गएको भएपनि मानव कंकाल फेला नपरेको डिएसपी रविन्द्र पाण्डेले बताएका छन ।
उनले घटनास्थलमा बिहानै देखि प्रहरीको टोलीले खोजी गरेपनि मानव कंकाल फेला नपरेको बताए । उनले शव रातीको समयमा जंगली जनावरले खाएको हुन सक्ने बताए ।
बुधबार मलामी गएका स्थानीयले आर्यघाटमा आधा जलेको अवस्थामा मानव कंकाल फेला पारेपछि इलाका प्रहरी कार्यालय मालाखेतीलाई खबर गरेका थिए । तर, प्रहरी भने बिहिबार मात्रै सो क्षेत्रमा गएको थियो ।
सो क्षेत्रमा मानव कंगाल फेला नपारेपछि मानव कंकाल कता हरायो भन्ने आशंका स्थानीयले गरेका छन । आर्यघाटमा स्थानीयले टाउको र घाँटी बाहेकको शरीर नभएको अवस्थाको मानव कंकाल देखेका थिए ।