काठमाडौँ : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । यसैबीच सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । पर्वका अवसरमा देशैभरि सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ।
तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले देश विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना दिएका छन् ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा भेला भएर यो पर्व मनाउँदैछन् । पर्वको अवसरमा कार्यक्रममा आज टुँडिखेलमा सांस्कृतिक कार्यक्रमका साथै गुरुङ समुदायका परिकारको समेत प्रदर्शनी गरिंदैछ ।
