अत्तरिया चोकमा जडान गरिएको वाटर फाउन्टिङ महिना दिन नपु्ग्दै बन्द
परिक्षणको रुपमा मात्रै चलाईएको नगरपालिकाको भनाई
धुर्ब ओझा/अत्तरिया : कैलालीको अत्तरिया चोकमा जडान गरिएको वाटर फाउन्टिङ (पानिको फोहरा) बन्द भएको छ । गोदावरी नगरपालिकाले चोकमा जडान गरेको वाटर फाउन्टिङ महिना दिन नपुग्दै बन्द भएको हो । नगरपालिकाले चोकमा राखिएको राजा महेन्द्रको शालिक वरपर रहने गरी वाटर फाउन्टिङ जडान गरेको थियो । चोकको सुन्दरताका लागि वाटर फाउन्टिङ जडान गरिएको हो ।
उक्त वाटर फाउन्टिङ जडान भएपछि सामाजिक सञ्जालमा निकै प्रशंसा भईरहेको थियो तर केही दिन चलेर वाटर फाउन्टिङ एक्कासी बन्द भएको छ । रातिको समयमा वाटर फाउन्टिङ खोलिने गरिएको थियो । उक्त समयमा स्थानिय व्यापारी लगायत पानिको फोहरा हेर्ने र टिकटक बनाउनेको भिड लाग्ने गरेको थियो । वाटर फाउन्टिङ एक्कासि बन्द हुदा नगरबासि पनि अचम्मीत परेका छन् । अहिले उक्त ठाउबाट सबै सामान उठाईएको छ ।
गोदावरी नगरपालिकाले केहि दिन परिक्षणको रुपमा मात्रै चलाईएको बताएको छ । परिक्षण सफल नभएको र पुनः जडान गरिने नगरपालिकाको भनाई छ । नगरप्रवक्ता गोपालदत्त भट्टले वाटर फाउन्टिङको काम अझै अधुरो रहेको बताएका छन । उनले स्टमेट अनुसार काम नभएकाले अझै अधुरो रहेको बताए ।
‘हामीले भने अनुसार स्टमेटको काम नभएकाले एसेप्ट गरेका छैनौ,’ उनले भने ‘हामीले भनेको सामान क्वालीटी अनुसारको भएन, फोहोरा दिन पनि सकेन र मोटरहरुमा पनि चित्त बुझेन अब पुनः बनाउछ ।’ दिपावलीको समयमा ठ्याक्कै थाहा भएन तर १०र११ लाखमा स्टमेट अनुसार सम्झौता भएको नगरप्रवक्ता भट्टले बताए । उनले दिपावलीमा बनाईसक्ने गरेर सम्झौता भएको तर ठेकेदारको केही समस्याका कारण ढिला जडान भएको बताए । कति बजेट र कोसंग सम्झौता भएको भन्नेबारे आफुलाई त्यती जानकारी नभएको उनले बताए । परिक्षणको रुपमा ८ ओटा मोटर जोडेर चलाईएको नगरप्रवक्ता भट्टको भनाई छ ।
वाटर फाउन्टिङ अनुगमन गरिरहेका लक्ष्मण ऐरले सोचे अनुसार डिजाईन राम्रो नभएका कारण रद्ध गरिएको बताए । ‘खर्च भयो एक दुई गर्दा गर्दे नौ वटा मोटर सम्म जडान भए, उनले भने ‘जडान गर्ने मान्छे अनुभवी भएन, देखेको रहेछ तर बनाएको रहेनछ ।’ जडान गर्ने मान्छे अनुभवी नभएका कारण वाटर फाउन्टिङ जडान सफल नभएको उनको भनाई छ । उनले महेन्द्रनगरका दमन चन्दले सामान्य कोटेशनमा जडानको काम लिएको बताए ।
चोकमा अहिले ‘हाईमास्ट लाईट’ पनि जडान गरिदाँ रातिको समयमा पनि चोक झिलिमिली हुने गरेको छ । रातिको समयमा यात्रु तथा व्यापारीलाई आवतजावतका साथै व्यापारिक सुरक्षाका लागि पनि चुनौती रहेको जनाउँदै नगरपालिकाले उक्त लाइट जडान गरेको हो । उक्त लाइटले चोरी डकैतीका घटनाहरु कम गर्नुका साथै दुर्घटनाका घटनाहरु पनि कम हुने नगरपालिकाले जनाएको छ । ७२ सय वाटको उक्त ‘लाईट टाईम’ सेट गरेपछि आफैँ खुल्ने र बन्द हुने प्रविधिको छ ।
यस्तै चोकमा ‘डिस्प्ले’ बोर्ड पनि राखिएको छ । उक्त डिस्प्लेमा नगरभित्रका मात्रै नभइ सुदूरपश्चिम प्रदेशभित्र रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रका तस्बिरका साथै यहाँका कला, संस्कृति जगेर्ना गर्ने खालका तस्बिर देखिने जनाइएको छ । नगरपालिकाले चालु आर्थिक बर्षको बजेटबाट चोकमा ‘हाईमास्ट लाईट’ जडान र वाटर फाउन्टिङ जडान गरेको हो ।
गोदावरी नगरपालिकाले चोकको सौन्दर्यता बढाउनका लागी ३० लाख लगानी लगाएर डिस्प्ले बोर्ड, हाईमास्ट लाईट र वाटर फाउन्टिङ जडान गरेको हो । अत्तरिया चोकमा हाईमास्ट लाईटले निकै सहज भएको स्थानियले बताएका छन् । यसअघि अत्तरिया चोकमा बिलबोर्ड राखिएपछि चोकको निकै आलोचना हुँदै आएको थियो उक्त बिलबोर्ड अहिले हटाइएको छ । सुदुरपश्चिमकै प्रवेशद्धार रहेको अत्तरिया चोक पछिल्लो समयमा व्यवस्थीत र आकर्षित बन्दै गएको छ ।