सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता छनोट गर्न बसेको बैठक निष्कर्षविहीन
भोली बिहान ९ बजे पुनः बस्ने
धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता चयन गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । दलको नेता चयनका लागि शनिबार दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालयमा बैठक बसेपनि साँझ ६ बजे बिना निष्कर्ष सकिएको हो ।
संसदीय दलको नेतामा दुई जना आकांक्षी देखिएका स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम इनचार्ज खगराज भट्ट र केन्द्रीय सदस्य ओम बिक्रम भाट सरलबीच सहमती नजुटेपछि कुनै निर्णय हुन नसकेको एक सांसदले बताए ।
प्रदेश इन्चार्ज भट्टले दलको नेता चयनका लागि आइतबार बिहान ९ बजे फेरी बैठक बस्ने गरी स्थगित भएको जानकारी दिए । भट्टले सहमतीकै आधारमा दलको नेता चयन गरिने दाबी गरेका छन् । करीब ३ घण्टा सम्म चलेको बैठकमा दलको नेतामा आकांक्षी भट्ट र भाटले दाबी नछाडेपछि बैठकले निर्णय लिन नसकेको हो ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभामा ११ सांसदसहित दोस्रो दल बनेको छ ।