अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा मनोमानी गरेको आरोप लागेको छ । यसअघि करोडौँ राजश्व संकलन गर्दै आइरहेको खुटिया, गोदावरी र खैराना नदीबाट यसपटक नगरपालिका आफैंले नदीजन्य पदार्थ संकलन गरेर बिक्री गर्ने नीति लिएको थियो । छ पटक सम्म पनि नगरपालिकाले टेन्डर आह्वन गर्दा कसैले नहालेपछि आफ्नै नगरप्रहरी राखेर नदी जन्य पदार्थको रोयल्टी संकलन गर्न थालेको हो । तर रोयल्टी संकलनमा भने आफ्नो नजिककालाई कुप्पन दिएको खुलेको छ ।
नगरपालिकाको ठुलो आम्दानी स्रोतको रुपमा लिएको नदी जन्य पदार्थको रोयल्टी उदारो समेत दिएको छ । आफैले नदीजन्य पदार्थ संकलन गरेर बिक्री गरेर बिक्री वितरण गर्दा अझै बढी मुनाफा हुने अपेक्षा गरिएका बेला नगरपालिकाको बदमासीले गर्दा राजश्व चुहावट हुने देखिएको छ । केही व्यक्ति र क्रसर उद्योगहरूलाई मनोमानी ढंगले आफैं टोकन बनाएर दिन थालेपछि स्थानीयले त्यसको विरोध गरेका छन् ।
एक स्थानियले भने– ’सरकारले असुल्ने राजस्व पनि उधारो दिने प्रचलन त कतै हुँदैन तर यँहा त धमाधम कुप्पन दिएर नदी जन्य पदार्थ उठाएर ट्याक्टर टिप्परहरु बाहिरिने गरेका छन् ।’ स्रोतका अनुसार यँहा रहेका श्रीपुर बिल्डर्स र वेस्ट्रन क्रसरका नदी जन्य पदार्थ उठाउने सवारी साधनलाई कुप्पन दिने गरेको बुझिएको छ । उनिहरुले महिनाबारीमा नै पैँसा दिने हुँदा उनिहरुलाई कुप्पन नगरपालिकाको छाप लगाएर दिने गरिएको छ । तर अन्य सर्बसाधारणका गाडीहरुबाट भने नगरपालिकाले पुरा रकम असुल्ने गरेको बताईएको छ । स्थानियले यो बिषयमा नगरपालिकालाई जानकारी गराएको बताईएको तर नगरपालिकाले खासै चासो नदिएको उनिहरुको भनाई छ ।
‘नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको मिलेमतोमा बिल बिना आफ्नालाई सुटुक्क टोकन दिएको हो । हामीले भेटाएपछि त्यसको विरोध गरेका हौँ’, एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्टले भने, ‘सार्वजनिक सम्पत्ति माथि अहिले गैरकानुनी रुपले हालीमुहाली भइरहेको छ ।’ नगरपालिकाको प्रमुख आन्तरिक आम्दानीको स्रोत मानिएको नदीजन्य पदार्थ सङ्कलनमा खाली कागजको पानामा छाप लगाएर आफ्नालाई सुटुक्क कुप्पन दिएर मनपरी गर्दै आएको भेटेपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराइसकेका छन् । ‘यो भ्रष्ट्राचार र गैरकानूनी काम हो’, उनले भने, ‘नगरपालिकाको प्रमुख आन्तरिक आम्दानीको स्रोतमा भइरहेको दोहन विरुद्ध हामीले अख्तियारलाई जानकारी गराएका छौँ ।’
नगरपालिकाका अनुगमन समितिका संयोजक देबराज भट्टले बाहिर सामाजिक संन्जालमा आए जस्तो कुनै गलत नभएको दाबी गरे । ’पहिले पनि उधारो दिने प्रचलन रहेछ । केही क्रसर उधोगका ट्र्याक्टरको संख्या ठूलो भएको ले यो सजिलोको लागि विधि बनाइएको हो । यसमा कुनै अनियमितता भएको छैन । महिनाको मसान्त मा पैसा लिएर हिसाबकिताब मिलान हुन्छ ।’ भट्ट ले आफुहरु नदिजन्य पदार्थबाट बढी भन्दा बढी रोयल्टी संकलन गर्ने तयारीमा लागेको बताए । उनले अहिले नै १३ दिनमा ४० लाख नजिक राजस्व संकलन भैसकेको बताए ।
नगरपालिकाले पनि यस विषयमा छानबिन गर्ने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार खत्रीले अहिले खाली कागजमा देखिएका छापहरूका विषयमा छानबिन गर्ने बताए । उनले भने, ‘हामीसँग प्रत्येक दिन कति उत्खनन भइरहेको छ भन्ने अभिलेख हुन्छ तर, अहिले कागजको पानामा छाप लगाएर दिइएको कुप्पनबारे छानबिन गर्छौ ।’ उनले यसरी खाली कागजमा छाप लगाएर नदीजन्य पदार्थ उत्खनन गर्न दिनु गलत रहेको जनाए ।
यसै बिषयमा नेकपा (एमाले)ले सोमबार गोदावरी नगरपालिकाको कार्यालय परिसरमा नाराबाजी गर्दै बिरोध जनाएको छ । नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टको नेत्रित्वमा नगरपालिका पुगेको एमाले नेताहरुको समुहले नगरपालिकाको उक्त कार्य बिरुद्द चर्को नाराबाजी गरेको हो । उनिहरुले ’खुटिया काण्ड बन्द गर’, ’भ्राष्टाचार छानबिन गर’, ’अनियमितता बन्द गर’, ’राजस्व चुहावट गर्न पाइदैन’ लगाएतका नारा समेत लगाएका थिए । एमालेले नगरपालिकाको उक्त कदम बिरुद्द चरणबद्द आन्दोलन गर्ने जनाएको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीद्वारा गोदावरी नगरपालिकाको नदीजन्य पदार्थको रोयल्टी संकलनमा भएको अनियमितताको छानबिन गरी कारवाही गर्न नगर प्रमुखको ध्यानाकर्षण गराएको छ । नदीजन्य पदार्थको रोयल्टी संकलनमा सरकारी छाप कृते गरी दुरुपयोग गरेको, केही कम्पनीसँग मिलेमतो गरी अनियमितता गरेको भेटिएपछि उक्त कार्यमा संलग्नलाई कारवाही गर्न, यस्ता अनियमित कार्य अविलम्ब रोक्न समेत माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विनोद बिष्ट नगर इन्चार्ज कैलाश जोशी, सेक्रेटरी दानसिहं धामी, युवा संगठन नेपाल गोदावरीका अध्यक्ष दिपक धामी लगायतको टोलीले नगर प्रमुख विरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत वसन्त खत्री लगायतलाई भेटेर कारवाही गर्न ध्यानाकर्षण गराएको हो ।
भेटघाटमा नगर प्रमुख भट्टले अनियमितताको छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत खत्रीले नगरपालिकाको छाप दुरुपयोग भएको स्विकार्दै अविलम्ब रोक्ने बताएको नगर इन्चार्ज कैलाश जोशीले जानकारी दिए । आफुहरूले अनियमितताको छानबिन र कारवाहीका लागि ध्यानाकर्षण गराएको र कारवाही नगरिए आफ्नो पार्टी जनकारवाही गर्न बाध्य हुने जिल्ला सेक्रेटरी विनोद बिष्टले चेतावनी दिए ।