कैलालीमा अन्तरघातले चुनावमा प्रतिकुल नतिजा, छानविन गर्न कार्यदल गठन

धनगढी : नेकपा एमाले कैलालीले पार्टीभित्रको अन्तरघात लगायतका कारणले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकिएको निष्कर्ष निकालेको छ । जिल्ला पार्टी कार्यालय धनगढीमा तीन दिनसम्म चलेको समिक्षा बैठकले विभिन्न तहबाट पार्टीमा भएको अन्तरघात चुनावी पराजयको मुख्य कारण भएको निचोड निकालेको हो ।

जिल्ला सचिव डेजी पाण्डेले मुख्यगरी पार्टीको आन्तरिक समस्या, तत्कालीन पाँच दलीय गठबन्धन, पार्टी फुटको असर, जातीय तथा क्षेत्रीय भड्काउलाई चिर्न नसक्नु र पार्टीको संगठन संरचनालाई तल्लो तहसम्म व्यवस्थित गर्न नसकिएका कारण प्रतिकुल नतिजा व्यहोर्नुपरेको बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।

पाण्डेकाअनुसार चुनावमा पार्टीका उम्मेदवारका विरुद्धमा भएका गतिविधि र संलग्न नेता तथा कार्यकर्ताका बारेमा छानविन गर्न कार्यदल बनाइएको छ । उपसचिव ममताप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको पाण्डेले बताए । कार्यदलमा श्याम खत्री, धनन्जय न्यौपाने, हितेश ओझा र विरबहादुर साउदलाई सदस्यमा राखिएको छ ।

चुनावी परिणामबारे समिक्षा गर्न एमाले कैलालीले २१ पुसदेखि समिक्षा बैठक राखेको थियो । कार्यदल गठन गर्दै बैठक शनिबार सकिएको छ । अब उक्त कार्यदलले चुनावको प्रतिकुल नतिजाबारे छानविन गरेर जिल्ला कमिटिको अर्को बैठकमा प्रतिवेदन पेश गर्नेछ ।

४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कैलालीमा एमालेले प्रत्यक्षतर्फ कुनै पनि ठाउँमा चुनाव जित्न सकेको थिएन ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.