धनगढी : सत्ता साझेदार दलहरुबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा सुदूरपश्चिममा आलोपालो गर्ने सहमति भएको छ ।
जसमा पहिलो नेतृत्व एमालले गर्ने छ भने दोस्रो पटकको नेतृत्व माओवादी केन्द्रले गर्ने सहमति भएको छ । पहिलो चरणमा एमालेले नेतृत्व गर्ने सहमति भएसँगै एमालेका नेता राजेन्द्र रावल मुख्यमन्त्री बन्ने पक्का भएको छ । सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् ।
सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धन भित्र एमालेका १० माओवादी केन्द्रका ११ नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । केन्द्रमा भएको सहमति अनुसार यहाँ माओवादीले दोस्रो चरणमा सरकारको नेतृत्व गर्ने छ । एमाले संसदीय दलको नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्री हुनेछन् ।
त्यसपछि माओवादी दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने छन् । केन्द्रको सहमति अनुसार यहाँ सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिको भागमा परेको छ । मुख्यमन्त्रीको लागि एमालेबाट रावल पक्का भइसक्दा सभामुख र उपसभामुखको भने अझै टुङ्गो लाग्न बाकी छ ।
सुदूरपश्चिम प्रदेशले २७ गते मुख्यमन्त्री पाउने छ भने २८ गते सभामुखको निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । प्रदेश प्रमुखले २७ गते भित्र दलहरूलाई बहुमत पुराउन २० गते एक साताको समय निर्धारण गरेका थिए । सभामुखका लागि भने पहिलो बैठकले २८ गते निर्वाचनको मिति तय भएको हो ।