नगरप्रमुखले माग सुनुवाई नगरेको भन्दै गोदावरीका शिक्षकद्धारा आन्दोलनको घोषणा
नगरपालिकाले शिक्षा क्षेत्रको बिकासको लागी ध्यान दिन नचाहेको गुनासो
अत्तरिया : नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर समितिले शिक्षक कर्मचारीहरुको मागलाई गोदावरीका नगरप्रमुखले सुनुवाई नगरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । मंगलबार अत्तरियामा नगर समितीले पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना मागहरु गोदावरी नगरपालिकाका नगरप्रमुखले अहिले सम्म कुनै पनि सुनुवाई नगरेको भन्दै आन्दोलनको घोषणा गरिएको जनाएको हो । नगर समितीले यहि पुस २० गते नगर प्रमुखलाई माग सम्बोधनका लागि खुल्ला पत्र लेखेको र उक्त पत्रमा २५ गते सम्म माग सुनुवाई नगरे आन्दोलनमा जाने बताईएको थियो ।
नगर समितीले बिद्यालयमा अहिले परिक्षा चलिरहेकाले माघको पहिलो साता देखी आन्दोलन गर्न बाध्य हुनुपरेको बताएको छ । समितीका अध्यक्ष नरेन्द्र शर्माले आफूहरुले यसअघि षौस २५ देखि आन्दोलन गर्ने घोषणा गरेपनि विद्यालयहरुमा परिक्षा संचालन भइरहेकाले उक्त कार्यक्रम स्थगित गरिएको बताए । उनले बिगत ३ महिना देखी शिक्षकहरुको तलब निकासा नभएकोले शिक्षकहरुलाई दैनिकी चलाउन पनि समस्या हुने गरेको गुनासो गरे । उनले आफ्ना माग सम्बोधन गरीदिन नगरप्रमुखलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको दुखेसो पोखे । शर्माले नगरपालिकाले शिक्षा क्षेत्रको बिकासको लागी समेत ध्यान दिन नचाहेको बताए ।
शिक्षकहरुको तलब हाल स्थानिय निकायबाट निकासा हुँदै आएको छ । तर नगरपालिकामा अहिले लेखापाल नहुँदा तलब निकासा हुन सकेको छैन । अध्यक्ष शर्माले पटक-पटक शिक्षा र शिक्षक कर्मचारीहरुका बिषय नगरप्रमुखलाई राख्न खोज्दा भेट्न समेत नपाएको बताए । ‘नगरप्रमुखले हाम्रा कुरा सुन्नु भएन् । नगरप्रमुखले हामीलाई भेट्न नचाहेपछि हामीले खुला पत्र लेखेका थियौ । तर, पनि हाम्रो सुनुवाई भएन् । त्यसैले आज हामीले पत्रकार सम्मेलन गरेका कुरा राखेका हौ’ उनले भने ‘अव जसरी पनि हाम्रा मागको सुनुवाई गरिनु पर्छ । हाम्रो मुख्य माग समयमा तलब हालिदिनुहोस भन्ने हो ।’
उनले नगर शिक्षकको तलव एकदमै न्यून भएकाले त्यसमा पनि वृद्धि हुनुपर्ने माग रहेको समितीका अध्यक्ष शर्माले बताए । नगरपालिकाले अहिले निजी शिक्षकलाई प्राथमिक तहमा मासिक २० हजार, निमावि तहमा २२ हजार र मावि तहमा २५ हजार छ । हाम्रो माग भनेको विगतमा नगरपालिकाले निजी शिक्षकको व्ययभारको जिम्मा लिएर यो तलब तोकेकोमा अब भने नगरपालिकाले नगर शिक्षकहरुको तलब वृद्धि हुनुपर्छ भन्ने हो’ उनले भने ‘यो पुरानो तलब जस्ताको त्यस्तै राखिनु हुन्न यसमा केही बढाउन आवश्यक छ भन्ने हाम्रो माग हो ।’
उनले नगर शिक्षक र संघिय शिक्षक बीच विभेद भएको अध्यक्ष शर्माले बताए । ‘नगर शिक्षक र सरकारी शिक्षकको तलबमा निकै अन्तर छ । सरकारी शिक्षकले प्रावि तहमा ३५ हजार तलब छ । तर नगर शिक्षकले २० हजार खान्छन । यो विभेद भयो भन्ने हाम्रो भनाई हो’ उनले भने ‘यस्तै संघिय सरकारबाट तलब खाने शिक्षकले पोसाक भत्ताको १० हजार भत्ता पाएका छन नगरशिक्षकले भने केही पनि पाएका छैनन् ।’ समितीका अध्यक्ष शर्माले अहिले विद्यालयले राखेका निजी शिक्षकलाई पनि नगर शिक्षक बनाउनु पर्ने आफूहरुको माग रहेको बताए । उनले भने ‘अहिले नयाँ नियुक्ती भएका निजी शिक्षकहरुलाई नगर शिक्षक बनाई आगामी दिनमा निजी शिक्षक राख्ने कार्य बन्द गरी सबै जिम्मेवारी नगरले लिनुपर्छ।’
विद्यालयले राखेका कर्मचारीलाई पनि नगरका कर्मचारी बनाउनु पर्ने उनले बताए । अघिल्लो जनप्रतिनिधिले एक सिष्टम बसाएकाले त्यसलाई व्यवस्थित गरीनुपर्ने अध्यक्ष शर्माको भनाई थियो । उनले बालविकासका शिक्षकहरुको तलब पनि न्यून भएकाले वृद्धि गरिनुपर्ने बताए । उनले राहत शिक्षकलाई पनि नगरपालिकाबाट राहत दिइनुपर्ने बताए । ‘ नगरपालिकामा हाल १३८ जना राहत शिक्षक रहेका छन । राहत शिक्षक विदा हुँदा रित्तो हात जानुपर्ने अवस्था छ’ उनले भने ‘यसमा नगरपालिकाले विदा प्रमाणित गरेर थोरै भएपनि कल्याणकारी कोष बनाउन आवश्यक छ ।’ नगरपालिकाले शिक्षकहरुको भ्रमणको व्यवस्था पनि गरिदिनुपर्ने पत्रकार सम्मेलन मार्फत शिक्षकहरुले माग गरेका छन ।
अध्यक्ष शर्माले स्थानीय तहले शिक्षको जिम्मा लिए अनुसारको जिम्मेदारी वहन गर्न नसकेको बताए । उनले अहिले पनि धेरै विद्यालयमा कम्प्युटर र सहजकर्ता खटनपटनमा पनि अव्यवहारीक भएको बताए । उनले कक्षा १ देखि ७ सम्मको स्थानिय पाठ्यक्रम नबनेको बताए । उनले कक्षा १ देखि ३ सम्म पाठ्यक्रम बनेको भएपनि ४ देखि ७ सम्मको पाठ्यक्रम नबनेको बताए ।
गोदावरी नगरपालिका भित्र १०८ सहजकर्ता कोटा रहेकोमा दर्जनौं विद्यालयमा १ जना पनि सहजकर्ता नभएको तर कुनै एउटा विद्यालयमा ७ ओटा सहजकर्ता रहेको बताईएको छ । ‘अहिले कुनै विद्यालयमा ७ वटा सम्म सहजकर्ता छन कुनै विद्यालयमा १ जना पनि छैनन् । सरस्वती मावि सेहरीमा ७ जना सहजकर्ता छन् । दशरथ चन्द आवि गोदावरीमा १ जना पनि सहजकर्ता छैनन् । १० वटा विद्यालयमा एक जना पनि सहजकर्ता छैनन्’ नगरपालिकामा रहेका ५४ विद्यालयमा सहजकर्ताको वितरण अन्यायपूर्ण छ ।’ समितीका अध्यक्ष शर्माले भने ।
नगर समितीले यहि पुस २० गते नगर प्रमुखलाई खुल्ला पत्र लेखेर आफ्ना बिभिन्न ५ बुँदे माग राखेको थियो । विगत ३ वर्ष देखि समयमै तलब प्राप्त गर्दै आएकोमा हाल आएर ३ महिना देखी तलव नपाएको, नगर शिक्षकको तलब वृद्धिको माग गरिएको र उक्त मागलाई व्यवास्था गरिएको, कक्षा १ देखि ७ सम्मको स्थानिय पाठ्यक्रम र पाठ्यपुस्तकको निमार्ण नभएको र छिट्टै हुनुपर्ने, नेपाल सरकारले बिद्यालयमा छात्राहरुलाई उपलब्ध गराएको स्यानिटरी प्याडको प्रयोग र व्यवस्थापन हुनुपर्ने र गोदावरी नगरपालिका भित्र १०८ सहजकर्ता कोटा रहेकोमा दर्जनौं विद्यालयमा १ जना पनि सहजकर्ता नभएको तर कुनै एउटा विद्यालयमा ७ ओटा सहजकर्ता रहेको खुला पत्रमा उल्लेख गरिएको थियो । तर खुला पत्र लेख्दा पनि नगरपालिकाका नगरप्रमुखले मागहरुप्रति कुनै चासो नदिएकाले आन्दोलन गनुपर्ने बाध्यता भएको शिक्षकहरुले बताएका छन् ।
यो पनि पढनुहोस् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीद्धारा ५ बुँदे माग राख्दै आन्दोलन गर्ने चेतावनी