अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नागरिक संग मेयर कार्यक्रम सञ्चालन गर्ने भएकोे छ । नसर्ने रोगहरुलाई मध्यनजर गर्दै नगरपालिकाले नगरमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । नसर्ने रोग सम्बन्धी नागरिकहरुलाई सहजै चेकजाँचका लागि नगरपालिकाले नागरिकसंग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बिहीबार नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई उक्त कार्यक्रमको बारेमा जानकारी गराएको थियो । नगरका स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्टले क्यान्सर, ब्लडप्रेसर, मुटुरोग, किट्नी रोग जस्ता रोगहरुलाई कम गराउनका लागि यो कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले नगरपालिकामा नागरिकसंग मेयर कार्यक्रम नयाँ खालको कार्यक्रम सञ्चालन गरिन लागेको बताए । ‘यो कार्यक्रम नगरपालिकाबाट बिनियोजित रकम मध्येको स्वास्थ्यसम्बन्धी एउटा नयाँ कार्यक्रम हो ।’ उनले भने ‘यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नसर्ने रोग सम्वन्धी क्यान्सर, बलड प्रेसर, किड्नी रोग, मुटुरोग रोग जस्ता जो एकदमै फैलिरहेका छन् यि रोगहरुलाई कम गराउनका लागि गरिने क्रियाकलाप हो ।’
उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा नगरका प्रत्येक वडामा रहेका नागरिकहरुको घरघरमा स्वास्थ्यकर्मी गएर नागरिकहरुमा लागेको नसर्ने रोगको बारेमा चेकजाँच संगै तथ्यांक संकलन गरिने उनले बताए । उक्त तथ्यांक संकलन कार्य माघ २ गतेबाट शुरुवात गरिने भएको छ । तथ्यांक संकलन पछि नगरमा रहेका ११ ओटा स्वास्थ्य संस्थामा १ दिने औषधी सहितको क्याम्प राखिने शाखा प्रमुख विष्टले बताए । ‘यस कार्यक्रमका चरणहरु ३–४ वटा रहेका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मीहरु परिचालन गरेर घर–घरमै घर भेट गर्छौ । त्यसबाट ब्लड प्रेसर लगायत मृगौला, ब्लड ग्रुप र अन्य किड्नी सम्वन्धी चेकजाँच गर्छौ ।’ उनले भने ‘घरभेट कार्यक्रम समाप्त भएपश्चात उहाँहरुलाई थप उपचार गर्ने नै छौ र हामी ११ वटै स्वास्थ्य संस्थामा औषधी सहितको १ दिने क्याम्प राख्ने छौ ।’
स्वास्थ्य शाखा प्रमुख विष्टले नगरपालिकाबाट उक्त कार्यक्रमका लागि १० लाख रुपैया विनियोजित गरिएको बताए । उनले नागरिक संग मेयर कार्यक्रम नियमित चल्ने कार्यक्रम रहेको बताए । नगरपालिकामा गर्भवती, दिर्घरोगी र असहाय व्यक्तीका लागि निःशुल्क एम्बुलेन्स सेवा रहेको बताए । नगरमा विरामीहरुलाई रगत अभाव नहोस भनेर रेडक्रस सोसाईटी कैलालीसंग समुन्वय गरेर सहजैरुपमा निःशुल्क रगत उपलब्ध गराईरहेको बताए । नगरमा रहेका स्वास्थ्य संस्थाको प्रयोगशालामा टिभि, खकार, पिसाव, रगत, सुगर र गर्भवती जाँच लागि निःशुल्क गरिएको स्वास्थ्य शाखा प्रमुख विष्टले बताए ।
त्यस्तै सुदुरपश्चिममै पहिलो पटक कृष्णपुर नगरपालिकामा २४सै घण्टा स्वास्थ्यचौकीमा डाक्टर सहितको नियमित स्वास्थ्य सेवा दिईरहेको उनले बताए । उपमेयर सुत्केरी स्याहार कार्यक्रम अन्तर्गत स्वास्थ्यचौकीमा नियमित गर्भजाँच गराई बच्चा जन्माउने महिलाहरुलाई नेपाल सरकारबाट १८ सय रुपैया यातायात खर्च वापत उपलब्ध गराईएको र उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाले पनि १५ सय रुपैया थप गरी नगगद दिने गरेको बताए । उनले चालु आर्थिक बर्षको नयाँ कार्यक्रम नागरिक संग मेयर कार्यक्रम पनि उपमेयर सुत्केरी स्याहार जस्तै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
नगरप्रमुख हेमराज ओझाले नगरमा रहेका स्वास्थ्यकर्मीहरुलाई घरघरमा पठाएर नागरिक संग मेयर कार्यक्रमको सुरुवात गरिने बताए । नगरपालिकाले सहजै चेकजाँचका लागि नागरिकहरुलाई प्रत्यक्षरुपमा सम्वोधन गर्न नसकिने भएका कारणले नगरपालिकाले नागरिकसंग मेयर कार्यक्रम ल्याएको उनले बताए । उनले आफु निर्वाचित भएर आएलगत्तै उक्त कार्यक्रम निति तथा योजनामा समावेश गरेको बताए ।
‘आफु निर्वाचित भएर आएदेखि नै स्वास्थ्य सेवा कसरी गर्ने भन्ने कुरा र सरकार स्थानिय तहमा पुगेसँगै नागरिकको अपेक्षा पनि धेरै छ ।’ उनले भने ‘घरघरमा गएर स्वास्थ्य सेवा दिनुपर्न जरुरी छ । यो हाम्रो दायित्व भित्र पर्ने कुरा हो ।’ उनले कार्यक्रमको दोश्रो चरणमा आवश्यकता अनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याइने र थप स्वास्थ्य सम्बन्धी कार्यक्रम अगाडी बढाइने बताए ।