सन्दीप लामिछाने छुटे धरौटी बुझाएर

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो । ‘मुद्दाको बाँकी प्रक्रिया अब उहाँ बाहिर बसेर पूरा गर्नुहुनेछ’, घिमिरेले भने ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ ।

Godawari_Tato hawa_Lu

उच्च अदालतले लामिछानेलाई पीडितको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न बन्देज लगाएको छ । आदेशमा भनिएको छ, ‘पीडितको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरुत्साहन दिने वा सोसम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी प्रतिवादीलाई निषेधात्मक आदेश दिइएको छ ।’

अदालतले लामिछानेलाई उपत्यका छाड्न पनि रोक लगाएको छ । उपत्यका छाड्नुपर्ने भए जिल्ला प्रहरी परिसर, काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने भनिएको छ । सर्तहरुको प्रभावकारिताका लागि लामिछानेको गतिविधिमाथि निगरानी राख्न प्रहरीलाई निर्देशन दिइएको छ ।

‘उनको मोबाइल, टेलिफोन नम्बरमा सेवा प्रदायक संस्थामार्फत पहुँच राखी सोसँग सम्बन्धित सामग्री वा विवरणको सञ्चार अभिलेख गर्नको लागि प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ’, आदेशमा भनिएको छ, ‘त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्नेछ ।’

जिल्ला अदालतले मागेको अवस्थामा त्यस्ता सामग्री वा विवरण उपलब्ध गराउन भनिएको छ । यसको जानकारी प्रहरी प्रधान कार्यालय, नक्साललाई दिन पनि भनिएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.