अत्तरिया : आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी थारु र मगर समुदायले विशेष रुपमा मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ ।
थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । पर्वका अवसरमा तराईका विभिन्न ठाउँमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ थारु समुदायका परम्परागत र सांस्कृतिक प्रस्तुतिको प्रदर्शन गरिएको छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन विभिन्न ठाउँका ताल तलैयामा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ ।
कैलालीको गोदावरी धाममा बाह्र राशी मकर मेला लागेको छ । मेलामा शनिबार राति देखि श्रद्दालु भक्तजनहरु पुगेका थिए । आज बिहान स्नान गर्नका लागि धाममा भिड लागेको छ ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । सुदुरका पहाडी समुदायमा भने आज मुडा पोल्ने संक्रान्तिका रुपमा मनाईन्छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने विश्वास गरिन्छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ ।
यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ ।
महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्त्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।
यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २२ गतेदेखि श्री स्वस्थानी व्रतकथा शुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ ।