डडेल्धुरा : स्वतन्त्र युवा समाज डडेल्धुराको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवा सहभागिता र संगठन निर्माणको औचित्य लगायतका महत्वपुर्ण विषयमा छलफल भई अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
विगत ३ वर्षदेखि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको स्वतन्त्र युवा समाज अब नयाँ ढंगले अगाडि बढ्ने समाजका अध्यक्ष सुरत तमोलिले बताए । उनले विगतका दिनमा गरेका कार्यलाई अब सांगठनिक हिसाबले अगाडि बढाईने र सेवालाई निरन्तरता दिने बताए ।
जेष्ठ नागरिक दिपक बोहराको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बिभिन्न ५ बुँदामा छलफल गरिएको समाजका सचिव किरन ऐरले बताए । बदलिँदो राजनीतिक परिवेशमा युवाको भूमिका, भ्रष्टाचार न्यूनीकरणमा युवा सहभागिता, सु–शासन कायम गराउने काममा युवा सहभागिता, सामाजिक सेवा, मानवीय सेवा र पहुँच नभएका वर्गको आवाजमा युवा सहभागिता र सार्वजनिक सेवा प्रवाहमा युवा सहभागिताका विषयमा छलफल गरिएको उनले बताए ।
डडेल्धुराका सबै युवा एक हुनुपर्ने र संगठनलाई मजबुत बनाउनुपर्ने आवश्यकता रहेको समाजसेवी अम्मर भट्टले बताए । टिमको मुख्य एजेन्डा भनेको अब अलगअलग बाटो नभएर एउटै बाटो हुनुपर्ने स्वतन्त्र युवा समाजका सदस्य यज्ञ बोहराको भनाई छ ।
