अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न भएको छ । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा पौष २७ गते देखि सुरु भएको महोत्सवको सोमबार एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाको सभापतित्वमा भएको समापन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथी सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपती डा. टिएन जोशी र गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया रहेका थिए ।
समापन कार्यक्रममा बोल्दै मेयर भट्टले अत्तरिया क्षेत्रमा खुला मञ्च र खेलकुद मैदानको आवश्यकता रहेको बताए । उनले अत्तरियामा मेला महोत्सव र सार्वजनिक कार्यक्रम संचालनका लागि खुला मञ्च नहुदाँ समस्या भएको बताए । अत्तरियामा भएको खुला ठाउँ लगायत बसपार्क क्षेत्र, खेल मैदान, दुर्गालक्ष्मी बहुमुखि क्याम्पस जाने बाटो नेपाली सेना र सशत्र प्रहरीले भोगचलनमा लिएकाले झनै समस्या भएको बताए । उनले राजधानी क्षेत्र भएकाले यस क्षेत्रमा क्षेत्रिय स्तरको बसपार्क, खेलमैदान आवश्यक रहेको बताए । उनले अत्तरिया क्षेत्रका व्यवसायीहरुले नगरपालिकामा व्यवसाय दर्ता नगरी बढेको भन्दै आगामी दिनमा सबैलाई दर्ता गर्न आग्रह गरे ।
संघका अध्यक्ष देबकोटाले महोत्सब सफल पार्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । उनले निकै मिहेनत गरेर महोत्सब लगाउने प्रयास गरिएपनी महोत्सब स्थल ब्यबस्थित नहुँदा समस्या झेल्नुपरेको दुखेसो पोखे । महोत्सब स्थल नेपाली सेनाको भोगाधिकार भित्र परेकाले शुरुमा अनुमती लिन गार्हो भएको बताए ।
उनले अबका दिनमा भने निकै चुनौती रहेको बताए । उक्त कुरामा सबैको ध्यान जान पनि जरुरी रहेको अध्यक्ष देवकोटाले बताए । ‘हामीले अहिले लगाएको महोत्सब स्थल नेपाली सेनाको भोगाधिकार भित्र परेको रहेछ, शुरुमा अनुमती लिन नै गार्हो भयो । ढिलो गरेर हामीले तयारी गरेका थियौं ।’ उनले भने ‘अबका दिन झनै चुनौती छ । हाम्रो भबन पनि शशस्त्र प्रहरीको जग्गामा परेको भन्ने छ त्यसैले अब ठाउँको अभाब हुने देखिएको छ त्यसैले यसमा सबैको ध्यान पुगोस् ।’
यस्तै कार्यक्रममा महोत्सब सञ्चालन अवधिभर सफल पार्न सहयोग गरेको भन्दै बिभिन्न संघसंस्था र ब्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बिभिन्न जिल्लाका बाणिज्य संघका अध्यक्ष एबम प्रतिनिधी, यस क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आज सम्पन्न महोत्सवमा देउडा गायक भोजराज भट्ट र लोकदोहोरी गायिका कल्पना दाहाल लगायतका कलाकारहरुले प्रस्तुती राखेका थिए । अत्तरियाको लामिताल परिसरमा १३ दिन सम्म सञ्चालन भएको सुदुरपश्चिम प्रादेशिक महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ २०७२ सालबाट महोत्सव सञ्चालन हुदै आएको छ । कोरोनाका कारण २०७६ र २०७७ सालमा सुदूरपश्चिम प्रादेशिक महोत्सव रोकिएको थियो ।