कृष्णपुर नगरपालिकाद्वारा कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण

गुलरिया : कृष्णपुर नगरपालिका कृषि विकास शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरेको छ । सोमबार कृष्णपुर नगरपालिका वडा न २ बनारा खल्ला शिविर नजिकै एक औपचारिक कार्यक्रमका बिच बगर खेती गर्ने किसानलाई नगरप्रमुख हेमराज ओझा ,नगर उपप्रमुख द्रोपती राना र वडा न २ का अध्यक्ष अर्जुन साउँदले संयुक्त रूपमा किसानलाई बीउ वितरण गरेका हुन् ।

बीउ वितरण पश्चात नगरप्रमुख ओझाले किसान दाजुभाइ दिदीबहिनीहरुको जीवन स्तर सुधारका लागि किसानलाई लक्षित गर्दै नगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको बताए । उनले मौसममा तरकारी सुपथ र सहजै उपलब्ध भएपनी बेमौसममा सहजै उपलब्ध नहुने उपलब्ध भैहाले अत्याधिक महंगो मुल्यमा उपभोक्ताले खरिद गर्नुपरेको भन्दै वडा न १,२ र ३ का किसान दाजुभाइ तथा दिदीबहिनीहरुलाई लक्षित गर्दै छिट्टै मिनि कोल्ड स्टोर निर्माण र समग्र कृष्णपुरबासीका एउटा ठुलो क्षमताको कोल्ड स्टोर बनाउने योजना रहेको बताए ।

नगरप्रमुख ओझाले हिजोको दिनमा बगरखेती सम्पुर्ण भारतीयले गर्ने भएपनी अहिले आफ्नै नेपालि दाजुभाइ दिदीबहिनीहरु बगरखेतीमा संलग्न रही आयआर्जन बढेको भन्दै खुशी व्यक्त गरे । त्यस्तै नगरप्रमुख ओझाले किसान दाजुभाइहरुले मौसमी खेती मात्र नभइ बेमौसमी खेती गर्न तयार हुनुपर्ने र त्यसका लागि किसानलाई आवश्यक पर्ने मलखाद एवं बीउ अनुदानमा चाहेजती मात्रामा नगरपालिका उपलब्ध गराउन तयार रहेको बताए ।

त्यस्तै उपप्रमुख द्रोपती रानाले नगरपालिका किसानको हितमा रहेर काम गरिरहेको बताइन । उनले विषादी युक्त तरकारीको बढ्दो प्रयोगले हाम्रो स्वास्थ बिग्रीदै गैरहेको भन्दै विषादी रहित तरकारी उत्पादन गर्न किसानलाई आग्रह गरिन ।

वडा न २ का अध्यक्ष अर्जुन साउँदले वडाको समग्र विकासका लागि आफू सक्दो पहल गरिरहेको बताए । उनले तरकारी खेती केबल समय गुजार्ने गरि गर्नु भन्दापनी आयआर्जनको माध्यम बनाउने गरि अगाडि बढ्नुपर्ने बताए ।

बगरखेतीका लागि आवश्यक पर्ने बीउ भावना कृषक समूह,कल्पना कृषक समूह,जनचेतना कृषक समूह र सम्झना कृषक समूहलाई वितरण गरिएको हो ।कृष्णपुरका वडा न २,३,७,८ र ९ मा किसानले बगर खेती गर्दै आएका छन् ।

कार्यक्रममा नगर उपप्रमुख द्रोपती राना, वडा न २ का अध्यक्ष अर्जुन साउँद,कृष्णपुर नगरपालिका कृषि शाखा प्रमुख लाल बहादुर धामी,वडा न २ का सदस्य राजु सिंह र जित चौधरी लगायत बनारा खल्ला शिविरका किसानहरुको उपस्थिति रहेको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.