कञ्चनपुर : कञ्चनपुरमा विगत लामो समयदेखि नाबालिकासँग यौन शोषणमा संलग्न रहेको भन्दै अनाथलयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
लामो समयदेखि अनाथलयमा बस्दै आएका नाबालिकालाई यौन शोषण हुँदै आएको सूचना कञ्चनपुर प्रहरीलाई प्राप्त भएपछि प्रमुख चन्दलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए । नाबालिकासँग यौन शोषण हुने गरेको सूचना प्राप्त भएपछि महेन्द्रनगरको महाकाली बाल अनाथालयका प्रमुख चन्दलाई पक्राउ गरिएको उनले बताए ।
‘अनाथलयका प्रमुखले पहिल्यैदेखि यस्तो काम गर्दै आएका रहेछन, एक नाबालिकाले यस्तो कुरा आफ्नो साथीसँग भनेपछि मात्र घटना बाहिर आएको हो’, उनले भने । अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि करणी गरेको खुल्न आएको छ ।
पीडित बालिकाले यो विषय कसैलाई भन्न सकेका थिएनन् । नाबालिका करणी गरेको आरोपमा चन्दलाई मंगलबार पक्राउ गरिएको हो । चन्दलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।