धनगढी : कैलालीको धनगढीमा एक उद्योग सञ्चालक पक्राउ परेका छन्। झण्डै १२ किलो चरेस र उद्योग सञ्चालकसहित चार जना पक्राउ परेका हुन् ।
दार्चुलाको नौगाड गाउँपालिका–२ स्थायी घर भई हाल धनगढीको चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योग सञ्चालन गर्दै आएका नरेन्द्रसिंह धामी चरेस सहित पक्राउ परेका छन् । ३४ वर्षीय धामीले सञ्चालन गरेको सो उद्योगमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उद्योग सञ्चालकसहित ४ जनालाई आज पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका–३ चकटपुरबाट ११ किलो ९ सय ग्राम चरेश, एक थान डिजिटल काँटा समेत नियन्त्रणमा लिएर चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।
पक्राउ पर्नेमा उद्योग सञ्चालक नरेन्द्रसिंह धामी, दार्चुला नौगाड–२ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ्ग केदारस्यु गाउँपालिका–७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुरा स्वामीकार्तिक गाउँपालिका–२ का स्थायी घर भई हाल बर्दगोरिया गाउँपालिका–४ कैलाली बस्दै आएका ३५ वर्षीय धनलाल कामी रहेका छन् ।
पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।