अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले भर्खरै सम्पन्न महोत्सवको आयव्यय विवरण सार्वजनिक गरेको छ । संघको आयोजनामा सञ्चालित सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७९ को आयव्यय विवरण सार्वजनिक गरेको हो । महोत्सव यहि पुष २७ गतेदेखी माघ ९ गतेसम्म सञ्चालीत भएको थियो ।
संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै यस वर्षको महोत्सवले करिब १० लाख नाफा कमाएको जनाएको छ । संघका अध्यक्ष अशोकराज देवकोटाले टिकट विक्रि र अन्य आम्दानी स्वरुप महोत्सवमा कुल ३४ लाख ३ हजार ६ सय ५० रुपैया आम्दानी भएकोमा चालु खर्च सबै मिलाउदा २९ लाख ४१ हजार ८० रुपैया खर्च हुन आएको बताए ।
उनले नगदमा भएको कारोबार अनुसार उक्त रकम मिलान गरिएको र त्यसमा केही रकम तिर्न र उठाउन बाँकी रहेको बताए । मुख्य प्रायोजक रहेको गोदावरी नगरपालिकाले दिने रकम पनि यकिन नरहेको उनले बताए । अध्यक्ष देवकोटाका अनुसार संघले १८ लाख २० हजार अझै उठाउन बाँकी छ भने १२ लाख ७४ हजार ९ सय २३ रुपैया तिर्न बाँकी छ ।
उठाउन बाँकी रकम सहित महोत्सवले कुल ५२ लाख २३ हजार ६ सय ५० रुपैया आम्दानी गरेको आयोजकले जनाएको छ । त्यसमध्ये तिर्नबाँकी रकम सहित जोडेर ४२ लाख १६ हजार ३ रुपैया खर्च देखिएको अध्यक्ष देवकोटाले जानकारी दिए । उठ्नुपर्ने रकम उठेमा यसपटकको महोत्सवबाट करिब १० लाख ७ हजार ६ सय ४७ रुपैया नाफा हुने उनले बताए ।
महोत्सव सफल पार्ने सवैलाई अध्यक्ष देबकोटाले धन्यवाद ज्ञापन गरेका छन् । बिगतमा महोत्सवको आय ब्यय संघले सार्बजनिक नगर्ने गरेको आरोप लागेपछि यो पटक समयमा नै आय ब्यय सार्बजनिक गरिएको छ ।