धनगढी : १० वर्षदेखि फरार सूचिमा रहेका प्रतिनिधि सभा सदस्य अरुण चौधरी आज बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । उनलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका संयुक्त प्रहरी टोलीले बाँकेको कोहलपुरस्थित बैजनाथपुर बाट पक्राउ गरेको हो । बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई कैलाली जिल्ला अदालत ल्याइने भएको छ ।
उनलाई आजै नेपालगन्जबाट कैलाली जिल्ला अदालत ल्याउन लागिएको हो । चौधरी पक्राउपछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले करिब १० वर्ष पहिले चौधरीलाई ६ महिना कैद फैसला सुनाएको थियो। अदालतको उक्त फैसला अनुसार कैद सजाय भुक्तान नगरेका चौधरी प्रतिनिधि सभा निर्बाचन २०७९ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
चौधरी सहित पर्शुराम चौधरी र वीर बहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा तत्कालीन बलिया गाविस ५ का महादेव बजगाईँले मुद्दा दायर गरेका थिए ।
त्यसको केही वर्ष पछि जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनै जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएका थिए । सोही घटनामा प्रहरीले शुक्रवार वीरबहादुर चौधरीलाई पक्राउ गरे पनि सांसद चौधरी प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।
वीरबहादुर चौधरीले मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊ भन्दै दिएको निवेदनमा अस्विकार गर्दै अदालतले ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो । २०७४ मा लम्कीचुहाको मेयर र प्रदेश सभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।
६ महिना कैद सजाय भुक्तान नगरी उन्मुक्ति नपाउने र अदालतले तोकेको १० लाख रुपैया जरिवाना तिर्नुका साथै ६ महिना कारागारमा बस्नै पर्ने सुदूरपश्चिम प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले बताए तर सांसद पद भने कायम रहने वा नरहने त्यस विषयमा कानुन मौन रहेको उपाध्यायको भनाई छ ।
कसैले उजुरी गरेको भए चौधरीको उम्मेदवारी नै रद्द हुनेथियो तर कानुन कार्यान्वयन गर्ने निकाय मौन रहदा उनी उम्मेदवार हुन पाएर निर्बाचित भएको मुख्य न्यायाधिवक्ता उपाध्यायले बताए ।