धनगढी : धनगढीमा हुने सुदूरपश्चिम राजधानी कप २०७९ को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ । असोज ८ गतेदेखि १५ गतेसम्म धनगढी रंगशालामा हुने फुटबल प्रतियोगिताको एक कार्यक्रमबीच ट्रफी र खेल तालिका सार्वजनिक गरिएको हो ।
पिएफए स्पोटर्स क्लबको आयोजनामा हुने प्रतियोगितामा ९औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउने ७ ओटा प्रदेशका टोली र एक घरेलु टोली गरी ८ टीमको सहभागीता रहेको प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश रातो र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् । सार्वजनिक खेल तालिका अनुसार असोज ८ गते हुने उद्घाटन खेलमा दुबै प्रदेश खेल्ने भएका हुन् । सुदूरपश्चिम प्रदेश रातो, कर्णाली प्रदेश, बागमति प्रदेश र प्रदेश नम्बर १ समुह ए मा रहेका छन् । समुह बी मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम निलो रहेका छन् ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ । यस्तै सह–प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहेको छ । ‘हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप’ मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ ।
