प्राज्ञिक विद्यार्थी परिषद्को नबौँ राष्ट्रिय अधिवेशन चैत्र १८ देखी धनगढीमा हुने
अधिवेशनको लोगो र नारा सार्वजनिक
धनगढी : प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशन आउदो चैत्रमा हुने भएको छ । ‘आत्मनिर्भर अर्थतन्त्र र भ्रष्ट्राचार नियन्त्रणका लागि नवौँ राष्ट्रिय अधिवेशन’ भन्ने मुल नाराका साथ कैलालीको धनगढीमा चैत्र १८, १९ र २० गते हुने भएको हो ।
आज धनगढीमा प्राज्ञिक विद्यार्थी परिषदले पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको बारेमा जानकारी दिएको छ । अधिवेशनको नारा र लोगो पनि सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै परिषद्का महासचिव छितराज न्यौपानेले धनगढीमा आयोजना हुन गइरहेको अधिवेशनमा देशभरका १२ सय भन्दा बढी प्रतिनिधिहरूको उपस्थिीती हुने बताए ।
अधिवेशनको एक सत्रमा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारद्वारा समाजमा प्रेरणादायी कार्य गर्ने युवालाई पुरस्कृत गरिने उनले बताए । अधिवेशनमा राष्ट्रिय सुरक्षा, आत्मनिर्भर अर्थतन्त्र, पर्यटन, कृषि, उद्यमशीलता, शिक्षा, सेवा एवं संवेदना आदि विषयमा विशिष्ट विद्वानहरूको उपस्थितिमा समानान्तर सत्र सञ्चालन हुने परिषद्का महासचिव न्यौपानेले जानकारी दिए ।
विभिन्न विषयमा भाषण सत्र रहनेछन् भने शिक्षा, आर्थिक तथा समसामयिक विषयमा महत्वपूर्ण प्रस्ताव समेत पारित गरिने भएको छ । अधिवेशनमा राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय महासचिवको निर्वाचन सहित केन्द्रीय कार्यकारिणी समितिको घोषणा हुनेछ । अधिवेशनका सम्पूर्ण विषयको तयारीमा धनगढीका कार्यकर्ता अगाडि बढिरहेका परिषद्का महासचिव न्यौपानेले बताएका छन् ।
परिषद्ले प्रत्येक दुई वर्षमा विभिन्न विषयमा केन्द्रित रहदै आफ्नो राष्ट्रिय अधिवेशन सम्पन्न गर्दै आइरहेको छ । महासचिव न्यौपानेले एक प्रेस नोट सार्वजनिक गर्दै विद्यार्थी परिषद् २०५२ सालमा स्थापना भई असल व्यक्ति निर्माण मार्फत् राष्ट्र पुनः निर्माणको अभियानमा नेपालका ७७ वटै जिल्लामा निरन्तर आफ्ना गतिविधिहरू सञ्चालन संगै शसक्त रूपमा सक्रिय हुँदै आइरहेको बताए ।
उनले नेपालको विद्यार्थी आन्दोलनलाई सकारात्मक दिशा प्रदान गर्दै शिक्षा क्षेत्रलाई रचनात्मक एवं दलीय राजनीतिमुक्त गर्ने संकल्पका साथ परिषद् शिक्षा क्षेत्रमा सक्रिय रहेको बताए ।
आफ्नो स्थापना कालदेखिनै विभिन्न सामाजिक तथा राष्ट्रिय विषयमा जनजागरण अभियान, सामाजिक गतिविधि, सेवाकार्य तथा शिक्षाका विविध विषयमा केन्द्रित रहँदै संगठन विस्तार तथा सुदृढीकरणका लागि निरन्तर सक्रिय रहेको प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जनाएको छ ।